बैतडी – लगातारको बर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबाली क्षति पुर्याएको छ । घोगा लाग्ने बेलामा मकैबालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा बर्षा र हावाहुरीले मकैबाली क्षति पुर्याएको स्थानीय रामबहादुर महराले बताए ।

बर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन् । यसअघि जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा पनि मकैबालीमा क्षति पुगेको थियो ।

जिल्लाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक बर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको उत्पादन घट्दै गएको दशरथचन्द नगरपालिका १ का किसान देवदत्त भट्टले बताए ।
