महाकालीको बाढीले दोधारा चाँदनीको जिरो प्वाइन्ट नजिकैको तटबन्धमा क्षति

कञ्चनपुर – महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका–१ को जिरो प्वाइन्टनजिकै बयलबन्दको तटबन्धमा क्षति पुर्‍याएको छ । बाढीले जिरो प्वाइन्टभन्दा दक्षिणतर्फका तारजालीहरू बगाउन थालेको हो ।

Karma Consultancy

गत वर्ष जिरो प्वाइन्टमै ४ वटा स्परहरू बाढीले बगाएको थियो । उक्त ठाउँमा अहिले स्पर निर्माण भइरहेको छ । उक्त क्षेत्रभन्दा केही तल तटबन्ध कटान गरेर तारजाली बगाउने अवस्था आएको स्थानीयले बताए ।

citizen security services

‘तटबन्ध कटान गरेर तारजाली खस्केका छन्,’ दोधारा चाँदनी नगरपालिका–१ का पूर्ववडाध्यक्ष अर्जुनदत्त भट्टले भने, ‘कटान भएको क्षेत्रको मर्मत नभए यसपटक यही क्षेत्रबाट बाढी दोधारा चाँदनीमा पस्ने खतरा छ ।’

attariya hospital

गत साताको सामान्य बाढीले तटबन्ध कटान गर्न थालेपछि स्थानीय त्रसित छन् । पुरानो जीर्ण तटबन्ध जतिबेला पनि भत्किन सक्ने भन्दै स्थानीयले पक्की तटबन्ध निर्माणको माग गर्दै आएका थिए । अढाई दशक पुरानो बयलबन्दको तटबन्ध जीर्ण भइसकेका कारण ठाउँ–ठाउँमा भत्किने जोखिम छ ।

गत वर्ष भत्काएका स्पर र झोलुंगे पुलको दक्षिणतर्फ ग्राभेल भरानका लागि जनताको तटबन्ध कार्यालय फिल्ड नं. ७ महेन्द्रनगरले ठेक्का दिएको छ । जुन काम अहिले भइरहेको छ । ४ वटा स्पर निर्माण र ३ ठाउँमा ग्राभेल भरानका लागि ३ करोड १८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख मनोरञ्जन सिंहले बताए ।

‘अहिले पनि धेरै ठाउँमा जोखिम छ, दोधारा चाँदनीतर्फ २ ठाउँमा र भीमदत्त नगरपालिकातर्फ गत वर्ष बाढीले भत्काएकै ठाउँमा जोखिम देखिन्छ,’ सिंहले भने, ‘अहिले तारजाली खस्केको ठाउँमा र झोलुंगे पुलको उत्तरतर्फ तटबन्ध भत्किन सक्छ ।’ उनका अनुसार उक्त क्षेत्रमा २० वटा जाली बाढीले खस्काएको छ । ती ठाउँमा बाढी घटेपछि मर्मतको काम गरिने बताए ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका कारण पानी एक ठाउँबाट बग्ने भएकाले पुलको दक्षिणतिर तटबन्धमा दबाब बढ्न सक्ने सिंहले बताए । उनले पक्की पुलको दक्षिण र झोलुंगे पुलको उत्तरतर्फ बढी सजगता अपनाउनुपर्ने बताए ।

‘यतापट्टि (भीमदत्त नगरपालिका) गत वर्ष भत्काएकै ठाउँमा फेरि भत्किन सक्छ,’ सिंहले भने, ‘निर्माण कम्पनीले पनि सडक किनारमा ठूला ढुंगा राखेको छ, गत वर्षकै जस्तो बाढी नआउन पनि सक्छ ।’ गत वर्ष महाकालीमा हालसम्मकै सबैभन्दा ठूलो बाढी आएको थियो । शारदा ब्यारेजमा ५ लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । जुन शारदा ब्यारेज निर्माण भएपछिकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.