बुढीगंगामा चुनावको मिति घोषणा गर्न काँग्रेसको माग
बाजुरा – नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ । वैशाख ३० मा भएको चुनावमा बुढीगंगामा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुन ः चुनाव गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएपछि काँग्रेस जिल्ला सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् ।

‘केन्द्रीय निर्वाचन आयोगको अबिलम्ब निर्वाचन गर्ने निर्णयविपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडी बदनियत के होरु संशय उत्पन्न भएको छ,’ जिल्ला सभापति रावलले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमालेको दबाबबीच निर्वाचन अधिकृत कार्यालयले चुनावको मिति घोषणा गर्न नसकेको आरोप पनि काँग्रेसको छ । बुधबार सर्वदलीय बैठक भए पनि निर्वाचनको मिति घोषणामा सहमति हुन सकेको थिएन। एमालेका नेताहरू बीचमै बैठक छाडेर गएका काँग्रेसमा महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलले बताए ।
एमालेले वैशाख ३० मै मतदान भएकोले उक्त मत गणना गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको थियो। बुढीगंगामा जनप्रतिनिधिविहीन हुँदा जनताले दुःख पाएकोले गम्भीर भएर पुनः निर्वाचनको मिति तय गरिनुपर्ने काँग्रेसको माग छ ।