अत्तरिया – सुदूरपश्चिम बासिलाई सुदूरपश्चिममै बसेर चिकित्सा शिक्षा अध्यापन गर्ने सपना देख्न थालेको दशकौ बितिसकेको छ । सुदूरपश्चिम बाहेकका सबैजसो प्रदेशमा चिकित्सा शिक्षा अध्यापन भइरहेको भएपनि यस क्षेत्रमा भने अहिले सम्म स्तरीय अस्पताल समेत संचालन हुन सकेको छैन । जसका कारण यस क्षेत्रका जनता कि अन्य प्रदेशमा जान बाध्य छन भने की भारतीय अस्पताल धाउने गरेका छन ।

लामो समयको सघर्ष पछि हाल कैलालीको गेटामा चिकित्सा शिक्षा संगै सुबिधा सम्पन्न ६ सय वेडको अस्पताल संचालन गर्ने भनेर भौतिक संरचना निर्माण गरिएको भएपनि अझै अस्पताल संचालन गरिएको छैन भने चिकित्सा शिक्षा अध्यापनका लागि कुन मोडालिटीमा जाने अन्याल कायमै छ । गेटामा हाल करिव साढे ४ अर्वको लागतमा अस्पताल, कलेज, छात्रवास, आवास लगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेका छन ।

संघिय सरकार मार्फत भवन निर्माण गरिएका भएपनि संचालनमा बेवास्था गरिदाँ अहिले यस क्षेत्रमा बिभिन्न आन्दोलनका कार्यक्रम संचालन भइरहेका छन ।
आन्दोलनका क्रममा मंगलबार प्रस्तावित गेटा मेडिकल कलेजको गेट (प्रवेशद्धार) मा दबाव मुलक निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
गेटा मेडिकल विश्वविद्यालय संचालनार्थ संघर्ष समिति कैलालीले गेटा मेडिकल विश्वविद्यालय अन्तरगत अस्पताल सञ्चालनार्थ दबाव मुलक निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
अस्पतालको गेटमा गरिएको शिविरमा यस क्षेत्रका पदमा अस्पताल, अत्तरिया अस्पताल, माया मेट्रो अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पताल, गोदावरी पोलिक्लिनिक प्रालीका चिकित्सकहरुले बिरामी चेकजाँच गरेका थिए । उक्त शिविरमा डा. नर बहादुर मौनी, डा. आनन्द पाठक, डा. बिरेन्द भण्डारी, डा. सुनिल चन्द, डा. नारायण प्रसाद पौडेल, डा. ब्रिजेश शाह, डा. ढाका राम लामिछाने, डा. विकास रिजाल लगायतले निःशुल्क रुपमा बिरामी चेकजाँच गरेका थिए ।
गेटामै उपचार पाउने आशामा बिरामी
गेटा मेडिकल विश्वविद्यालय अन्तरगत अस्पताल सञ्चालनार्थ दबाव दिन आयोजनामा गरिएको शिविरमा उपचार गराउन आएका बिरामीहरुले छिटै गेटामा उपचार पाउने आशा गरेका छन । अरबैका भवन प्रयोग बिहिन बनिरहदाँ प्रवेशद्धारमा चेकजाँच गराएका बिरामीहरुले सरकारले यस क्षेत्रका जनताको स्वास्थ्य समस्यालाई बुझेर चाडो अस्पताल संचालन गरिनुपर्ने माग समेत गरेका थिए ।
पेटको उपचार गराउन शिविरमा पुगेकी अत्तरियाकी लक्ष्मी बिष्टले गेटामा निर्माण गरिएका भवनमा अस्पताल संचालन भएमा उपचार गराउन निकै सहज हुने बताईन् । ‘छिटो मेडिकल कलेज संचालन भइदिएको भए हामीलाई यस क्षेत्रबाट स्वास्थ्य सेवा लिन सहज हुने थियो’ उनले भनीन् ‘अहिले यती ठूला भवन बनिसक्दा पनि काठमाण्डौं, भारत धाउनु पर्ने बाद्यता छ । हामीलाई त्यही दुःख लागेको छ ।’
अत्तरियाकी कमला भट्टले पनि छिटो अस्पताल संचालन भए बाह्य जानुपर्ने बाद्यता हट्ने बताईन् । उनले भनीन् ‘सिबिर भन्दा पनि यही नियमित उपचार गर्न पाए सहज हुन्थ्यो ।’ गोदावरीका सुरज बिष्टले छिटो भन्दा छिटो अस्पताल संचालन भएर चिकित्सा शिक्षाको अध्यापन हुनुपर्ने बताए । उनले अस्पताल संचालन भएमा भारतमा जानुपर्ने बाद्यता हड्ने भएकाले सहज हुने बताए ।
गेटा मेडिकल विश्वविद्यालय संचालनार्थ संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले मोडालिटीको बिषयमा अब बहस नगरी यथासिघ्र मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने बताए । स्वास्थ्य शिविर संचालन गरिनु पुर्व आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यसै बर्ष अस्पताल संचालन गर्ने भनेपनि हालसम्म अस्पताल संचालन हुने संकेत नदेखिएकाले सरकारलाई चुनौती दिन गेटमै अस्पतालका सेवा दिइएको बताए ।
‘अझै पनि हाम्रा माग पुरा नगरिए हामी अझै सशक्त रुपमा आन्दोलन गर्नेछौ’ उनले भने ‘अब जबसम्म विद्यार्थी एप्रोन लगाएर यस ठाउँमा पढ्न आउँदैनन, जबसम्म यहाँ अस्पताल संचालन हुँदैन तबसम्म आन्दोलन जारी रहने छ ।’