सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षीको बेन्च खाली

धनगढी – बुधबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको उपस्थिति देखिएन । प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रतिपक्षको कुर्सी भने खाली रहेको थियो । सत्ता पक्षका धेरै प्रदेश सभा सदस्यहरुको उपस्थिति देखिएको बेला प्रतिपक्षको बेन्चमा भने जनता समाजवादी दलबाट प्रतिनिधित्व गर्ने मालामति राना थारु मात्रै एक्लै बसेकी थिइन् ।

maya metro hospital

सुदूरपश्चिममा नेकपा (एमाले) का १०, राजपा र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक गरी १२ जना प्रदेश सभा सदस्य प्रतिपक्षीको भूमिकामा छन् । तर, प्रदेश सभाको बैठकमा राना एक्लैको मात्रै उपस्थिति रहेको थियो । उनले सदन सत्तापक्ष र प्रतिपक्षको उपस्थितिमा चल्ने गरे पनि सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको अनुपस्थिति हुनु आश्चर्यको विषय रहेको बताइन् । ‘प्रतिपक्षी हुनु अपराध र दोष त पक्कै होइन’, उनले भनिन्, ‘सरकारलाई खबरदारी गर्ने काम प्रतिपक्षीको हो । तर, यहाँ म एक्लैमात्रै प्रतिपक्षी छु । कहिलेकाहीँ त यस्तो लाग्छ । म पनि कति बेला सरकारमा जाऊँ र बजेट आफ्नो क्षेत्र, समुदायका लागि लैजाऊँ ।’

joshi vada pasal 2

उनले सरकारले युग सुहाउँदो विकासका लागि नीति तथा कार्यक्रम ल्याउन नसकेको बताइन् । सभामुखले बोल्ने समय सकिएको जानकारी जनाउ दिएपछि ठट्टा गर्दै उनले थपिन–‘प्रतिपक्षबाट म एक्लै उपस्थित छु, तर संख्या १२ हो । ११ जनाको नाममा एक–एक मिनेट मात्रै पाए पनि कम्तीमा अझै ११ मिनेट मैले बोल्न पाउनुपर्छ ।’

आठौं बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, एकीकृत समाजवादी पार्टीकी प्रदेशसभा सदस्य कुन्ती जोशी, नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य नन्दाकुमारी बम, एकीकृत समाजवादी पार्टीका लालबहादुर खडका, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य महेशदत्त जोशी, नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य दिव्यश्वरी शाह, एकीकृत समाजवादी पार्टीकी प्रदेशसभा सदस्य चुनकुमारी चौधरी, माया बोहरा तामाङ, नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य उमाकुमारी बादीलगायतले सहभागिता जनाएका थिए । नीति तथा कार्यक्रममाथिको अर्को छलफल बिहीबार दिनको ३ बजे सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.