सुदूरपश्चिमका पहाडी ७ जिल्ला सञ्चारविहीन
बैतडी – सुदूरपश्चिमका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर बाहेक प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहिन बनेका हुन ।
अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि पहाडी जिल्लाका मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए ।
सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ । मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सुचारु हुन सकेको छैन । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
उनले भने, ‘इन्टरनेट नहुँदा प्रशासनको सेवा दिन सकिएन, राष्ट्रिय परिचय विवरण संकलन, नागरिकता विवरण लगायतका काम प्रभावित भयो, सञ्चारविहीन हुनुपरेको छ, निकै समस्या भएको छ ।’
सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । अवरुद्ध सञ्चार सेवा सुचारुका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख टमटाले जानकारी दिए ।
उनले भने, ‘अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको जानकारी प्राप्त भएको छ । छिट्टै समस्या समाधान हुन्छ ।’