दार्चुलामा खरको कुन्युमा जलेको अवस्थामा महिलाको शव फेला
दार्चुला – दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला परेको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका– १ बारिलमा घर नजिकैको खरको कुन्यूमा जलेको अवस्थामा ४५ वर्षीया अनिभा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुई छोरी र एक छोरा रहेकी खडायतका श्रीमानको ७ वर्ष पहिले मृत्यु भएको सोही वडाका वडाअध्यक्ष भरतबहादुर खडायतले बताए । घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ ।
दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए । घटनाको अनुसन्धानका लागि दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ ।