स्थानीय तहले दिन थाले गर्मी बिदा
कञ्चनपुर – कञ्चनपुरका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । गर्मीका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ३ दिन विदा दिने निर्णय गरेको छ । गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै जेठ २५ देखि २७ सम्म विदा दिने निर्णय गरिएको हो । उक्त विदा लामो बिदाबाट मिलान गरिने नगरपालिकाका उपसचिव बिष्णुदत्त भट्टद्धारा जारी सूचानामा भनिएको छ । गर्मीका कारण बेदकोट नगरपालिकाले पनि बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी भीमदत्त नगरले मङ्गलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । गर्मी बढेसँगै विद्यार्थीहरुलाई समस्या हुने भन्दै भीमदत्त नगरले आगामी शुक्रबारसम्मका लागि बिदा दिने निर्णय गरेको हो ।
यहाँ स्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपकराज कलौनीले गर्मीका कारण विद्यालय बन्द गरिरहेको बताए । नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी ३४९ र सामुदायिक २६० विद्यालय छन् ।