गेटा मेडिकलको मोडालिटीका बारेमा संघर्ष समिति अत्तरियाले विज्ञ संग छलफल गर्ने
अत्तरिया – कैलालीको गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजको मोडालिटी (प्रारुप) का बारेमा विज्ञ संग छलफल गरिने भएको छ ।
‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ ले मेडिकलको मोडालिटीका बारेमा यस क्षेत्रका विज्ञ संग छलफल गर्न लागेको हो ।
सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा पनि मेडिकल कलेजको मोडालिटी स्पष्ट नभएकाले मोडालिटीको बारेमा छलफल गर्न लागिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले बताए ।
उनले बजेटमा सम्बन्धित विश्वविद्यालय अन्तरगत मेडिकल कलेजका रुपमा संचालन गरिने भनिएपनि त्यसमा स्पष्ट नभएको बताए । यसअघि प्रस्ताविक गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय बनाएर संचालन गरिनुपर्ने अध्ययन समितिले सुझाव दिएको थियो ।
तर, बजेट भाषणमा उक्त सुझाव नसमेटिएको बारेमा पनि विज्ञ संगको बहसमा छलफल गरिने संयोजक पाण्डेले बताए । सोमबार अत्तरियामा बसेको संघर्ष समितिको बैठकले जेठ २० गते विज्ञ संगको छलफल कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
संघिय सरकारले आइतबार बजेट भाषणमा निर्माणधिन गेटा मेडिकल कलेजलाई सेती, महाकाली अस्पताल संगको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत संचालन गरिने जनाइएको थियो ।
बजेट भाषण पछि प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्व विद्यालय अन्तरगत नराखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय बनाएर संचालन गरिनुपर्ने माग गर्दै उक्त निर्णयको बिरोध समेत गरेका छन ।