रक्तदान र खाद्यान्न वितरण गर्दै सुदूरपश्चिम युवा परिषद्ले मनायो आफ्नो पहिलो स्थापना दिवस
अत्तरिया – सुदूरपश्चिम प्रदेश युवा परिषदले शनिबार रक्तदान र खाद्यान्न वितरण गरेर आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा परिषद्ले कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको साहारा घरमा खाद्यान्न वितरण गरेको छ भने अत्तरियमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

परिषद्ले मानव सेवाको क्षेत्रमा क्रियासिल संस्था साहारा घरमा रहेका करिब १ सय भन्दा बढी शारीरिक अपाङ्गता भएका बेसाहारा नागरिकहरुका लागि खाद्यान्न सामाग्री प्रदान गरेको जनाएको छ ।

साहारा घरमा आश्रीतहरुको चाप बढ्न गई व्यवस्थापनमा निकै समस्या भैरहेको अवस्थामा युवा परिषदले गरेको सो सहयोगले राहत पुगेको साहारा घरका संचालक बल बहादुर बिष्टले जानकारी दिए ।

दिवसको अवसरमा परिषद्ले अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको थियो । परिषद्को प्रायोजनमा सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरियाले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन ।
अस्पतालका अध्यक्ष आनन्द भट्टले बिरामीको चाप बढ्ने समय भएपनि कैलालीको ब्लड बैंकमा रगतको अभाव भएका कारण युवा परिषद् संगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
उक्त अभियानमा रगत दान गरेका धर्म सिह कुवरले रक्त दान गर्ने अवसरका लागि आयोजन र प्रायोजकलाई धन्यावाद ज्ञापन गरे । उनले रगतको अभावमा कसैको ज्यान नजाओस भन्ने उद्देश्यले रक्तदान गरेको बताए ।
स्थानीय कुवेर खड्काले रगत दान नै जिवन दान भएकाले यसमा सबैले सहभागिता हुनुपर्ने बताए । ‘मैले यो भन्दा पहिले २४ पटक रक्तदान गरिसकेको छु’ उनले भने ‘रक्तदान नै जिवन दान हो ।’
युवाहरुमा सामाजिक सेवाको भावनालाई वृद्धि गरि समाज सेवाको क्षेत्रमा पनि आफ्नो बचेको समयलाई व्यवस्थापन गर्न प्रेरित गर्ने उद्देश्यले दिवसको कार्यक्रमको आयोजना गरिएको परिषद्का सदस्य शेर बहादुर बिष्टले बताएका छन ।
