गेटा मेडिकल कलेज यथासिघ्र संचालनका लागि चौतर्फी दवाव 

 

अत्तरिया – सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममा प्रस्तावित गेटा मेडिकल कलेज नपरेपछि पुनः यसको चर्चा चुलिएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुग्दा पनि यसलाई संचालनमा ल्याउन चासो नदेखाइएको बिभिन्न संघर्षका कार्यक्रम सुरु भएका छन । अत्तरियामा पनि मेडिकल कलेजलाई तत्काल संचालनका लागि दबाव दिन  ‘गेटा मेडिकल कलेज संचालानार्थ संघर्ष समिति’ गठन गरिएको छ । बुधबार गठन गरिएको संघर्ष समितिले अत्तरियामा बिरोध ¥याली निकाल्दै चक्काजाम समेत गरेको छ । आधा घण्टा अत्तरियामा चक्काचाम पछि निर्माणाधिन प्रस्तावित गेटा मेडिकल पुगेको संघर्ष समितिले समितिको ब्यानर गेटा मेडिकल कलेजको गेटमा लगाइएको थियो ।

maya metro hospital

बिरोध कार्यक्रम पछि मेडिकल कलेज परिसरमा बसेको संघर्ष समितिको भेलाले उक्त समितिको संयोजकमा लोक राज पाण्डे (आगो) लाई तोकेको छ । समितिका तत्कालका लागि ३१ सदस्य राखिएको जनाइएको छ । उक्त समितिले बिहिबार देखि चरणबद्ध रुपमा बिरोधका कार्यक्रम गर्ने समितिका संयोजक पाण्डेले बताएका छन ।

मेयर भट्ट काठमाण्डौं हिडे 

attariya hospital

यसैबिच गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट प्रस्तावित गेटा मेडिकल संचालनको लागि दवाव दिन काठमाण्डौं गएका छन । बुधबार काठमाण्डौं जानु अघि पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर भट्टले मेडिकल कलेज संचालनका लागि बजेट विनियोजन गर्नको लागि माग गर्न र मेडिकल कलेज संचालनका लागि आवश्यक ऐन बनाउनका लागि प्रस्ताव राख्न काठमाण्डौं जान लागेको बताएका हुन ।

‘गेटा मेडिकल कलेज संचालनमा ल्याउनको लागि बिभिन्न संरचना निर्माण भइसकेको छ । यसको संचालनका लागि इक्विपमेन्ट मात्रै आवश्यक रहेको छ’ उनले भने ‘अहिले सरकारले बजेटिङ गर्दा यसमा बजेट परेन भन्ने कुरा पनि आएको छ । यो कुनै पनि हालतमा रोकिनु हुँदैन भन्ने उद्देश्यका साथ म जान लागेको हो । यो  नीति तथा कार्यक्रममा नपरेको भएपनि केही समस्या थिएन । अहिले बजेटमा पनि गेटा मेडिकल कलेज परेको छैन भन्न्ने मैले सूचना पाएको छु ।’ उनले गेटा मेडिकल कलेजका लागि आगामी आर्थीक बर्षमा कुनै पनि हालतमा बजेट बिनियोजन हुनुपर्ने बताए ।

‘बजेटका कारण यो रोकिनु हुँदैन । बनेको मेडिकल कलेज रोकिनु राम्रो कुरा होइन । भोलीका दिनमा बजेट परे पछि पनि यसको ऐन पास हुन पनि जरुरी छ’ उनले भने ‘सुदूरपश्चिममा यती ठूलो मेडिकल कलेज बनिसक्दा पनि यो संचालन नआउँदै प्रदेशकै अन्य ठाउँमा पनि मेडिकल कलेज परेको देखिन्छ । जसका कारण गेटा मेडिकल कलेज ओझेलमा नपरोस भन्ने चिन्ताको बिषय बनेको छ । यसैका लागि म आज नै काठमाण्डौं गएर यसको लागि पहल गर्नेछु ।’

उनले काठमाण्डौं गएर प्रधानमन्त्री, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा यसको बारेमा कुरा राख्ने बताएका छन । उनले मेडिकल कलेज संचालनका लागि तत्काल ४ अर्व बजेट आवश्यक पर्ने जानकारी आफूले पाएको बताए ।

‘भौतिक संरचनाको धेरै काम भएको छ । अब इक्विपमेन्ट किन्नका लागि तत्काल बजेटको अवश्यकता छ’ उनले भने ‘जसका लागि करिब ४ अर्व आवश्यक पर्छ ।’

उनले डडेल्धुरामा मेडिकल कलेज बन्नु सुदूरपश्चिमका लागि राम्रो भएपनि त्यसका कारण गेटा मेडिकल कलेज ओझलमा नपरोस भन्ने आफ्नो चाहना रहेको बताए । ‘डडेल्धुरामा हुनु हुँदैन भन्ने होइन । सुदूरपश्चिममा जती मेडिकल कलेज बने हाम्रा लागि राम्रो बिषय हो । तर, अहिले बनिसकेको संरचना ओझेलमा नपरोस भनेको हो’ उनले भने ‘यो गोदावरी नगरपालिकामै भएकाले यो संचालनमा ल्याउनु मेरो जिम्मेवारी पनि हुन्छ ।’

गेटा मेडिकल कलेज नीति तथा कार्यक्रममा नसमेटिएपछि अहिले बिशेष गरेर धनगढी, अत्तरियामा बिरोधका कार्यक्रम सुरु भएका छन ।

९० प्रतिशत काम सम्पन्न

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो । मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ ।

चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत रहेको र आयोजनाको कुल प्रगति करिब ९० प्रतिशत भएको उनले बताए । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायत संरचना निर्माणको काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.