कैलालीमा दोहोरिन चाहेका अधिकांश जनप्रतिनिधी पराजित

अत्तरिया – कैलालीको स्थानीय पालिकामा दोहोरिन चाहेर उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधि पराजित बनेका छन् । २०७४ सालमा स्थानीय तह निर्वाचन जितेर यस पटकको निर्वाचनमा पुनः पालिका प्रमुख र उप प्रमुखमा उम्मेदवारी दिएका कोही पनि उम्मेदवार सफल हुन सकेनन् ।

maya metro hospital

२०७४ को चुनावमा विजयी भएका कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी दोस्रो पटक अध्यक्ष बन्न गठबन्धनका तर्फबाट उम्मेदवार बनेको थिए । तर, उनी कांग्रेसका बागि उम्मेदवार संग पराजित भएका छन । उनी २०७४ को स्थानीय तह निर्वाचनमा बहुमत वडा सहित विजयी भएका निवर्तमान अध्यक्ष हुन् ।

कैलालीको गोदावरी नगरपालिकाको उप मेयरमा दोहोरिएर उम्मेदवार बनेकी रत्ना कडायत पनि यस पटक पराजित भइन् । अघिल्लो पटक एमालेबाट उप मेयर पद जितेकी कडायत यसपटक नेकपा एसबाट गठबन्धनका तर्फबाट उप मेयरमा उम्मेदवार बन्दा एमालेसँगै पराजित भइन् । गोदावरीको उप मेयरमा नेकपा एमालेकी शारदा रोकाया विजयी भइन् ।

attariya hospital

कैलालीको भजनी नगरपालिकामा पुनः दोहोरिएर मेयरमा उम्मेदवारी दिएका शेरबहादुर चौधरी पनि पराजित भए । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर विजयी भएका चौधरी यस पटक पनि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार बनेका थिए । तर उनी रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरीसँग पराजित भए । २०७४ को निर्वाचनमा भजनी नगरपालिकामा मेयर र उप मेयर माओवादी केन्द्रले जितेको थियो ।

लम्कीचुहा नगरपालिकाको मेयरमा दोहोरिएर उम्मेदवार बनेका महादेव बजगाईँ पनि पराजित भएका छन् । २०७४ को निर्वाचनमा मेयर पद जितेका बजगाईं फेरी मेयरमै उम्मेदवार बनेका थिए । उनी नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएकी सुशीला शाहीसँग पराजित भए । लम्कीचुहा नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावी तालमेल गर्दा उनको पराजय भएको हो ।

घोडाघोडी नगरपालिकाको मेयरमा पुनः उम्मेदवारी दिएका ममताप्रसाद चौधरी पनि यस पटक चुनावमा पराजित भए छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयरमा जितेका चौधरी यस पटकको निर्वाचनमा पनि दोहोरिएर मेयरमा उम्मेदवार बनेका थिए । तर यस पटक भने उनी सफल हुन सकेनन् । चौधरीलाई एमालेबाटै अलग्गिएको नेकपा एसका उम्मेदवार खडक रावतले पराजित गरे । रावत घोडाघोडीमा गठबन्धनका साझा उम्मेदवार बनेका थिए ।

कैलालीको चुरे गाउँपालिका उपाध्यक्षमा पुनः दोहोरिएर उम्मेदवार बनेकी दिपा साउद पनि पराजित भइन । २०७४ को निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी साउदले यस पटक पनि एमालेबाटै उपाध्यक्षमै उम्मेदवारी दिएकी थिइन् । चुरेमा एमालेले अध्यक्ष पद जित्दा उपाध्यक्षमा भने पराजय भोग्न पर्यो ।

सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा पनि दोहोरिएर उम्मेदवार बनेका नृपबहादुर वड यस पटक पराजित हुने देखिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७ सय मत अन्तरले पराजित गर्दै मेयर बनेका नृपबहादुर वड यस पटक भने उनै स्वतन्त्र उम्मेदवार हमाल भन्दा १० हजार मतले पछाडि छन् ।

जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै दोहरीएका उम्मेदवार पराजित भएको स्थानीयको स्थानीय बनाउन्छन । जनताले पटक–पटक एउटै उम्मेदवारलाई मौका दिन नचाहेको कैलालीको गोदावरी नगरपालिका–२ की अम्बिका ताम्राकार बताउँछिन् । ‘दोहोरिएका जनप्रतिनीधले सम्झन लायक काम पनि गर्न सकेनन्,’ उनले भनिन्, त्यसैमा एउटै व्यक्तिलाई पटक–पटक ल्याउनुभन्दा अरुलाई पनि मौका दिनु पर्छ भन्ने आम धारणाका कारण दोहोरिया उम्मेदवार पराजित हुन पुगे ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.