सुदूरपश्चिमका कान्छा मेयर
डडेलधुरा – चीनबाट वातावरण विज्ञानमा स्नात्तकोत्तर गरेका २८ वर्षीय भरत जोशी वडायर डडेलधुराको परशुराम नगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका उनी सुदूरमा सबैभन्दा कम उमेरका नगर प्रमुख हुन् ।

भारतसँग सीमा जोडिएको महाकाली किनाराको परशुराम नगरपालिकामा उनले माओवादी केन्द्रका शेरसिंह माललाई पराजित गर्दै नगर प्रमुखमा जित हासिल गरेका हुन् । परशुराम नगरपालिकाको १२ नम्बर वडा लालढुंगाका स्थायी बासिन्दा भरत कक्षा १० मा पढ्दै गर्दा कांग्रेसको भातृ संगठन नेविसंघमा जोडिएका थिए ।

त्रिचन्द्र कलेजमा पढ्दा उनी पहिलो पटक नेविसघको इकाइमा सदस्यको भुमिकाबाट राजनीतिमा प्रवेश गरेका थिए । त्रिचन्द्र कलेजबाट स्नातक गरेपछि उनले चाइनीज एकेडमी अफ साइन्सेज चीनको राजधानी वेइजिंङबाट वातावरण विज्ञानमा स्नात्तकोत्तर गरेका हुन् ।

६ वर्षअघि कांग्रेसको क्रियाशील सदस्य भएर उनले परशुराम नगरपालिकामा राजनैतिक र सामाजिक क्षेत्रमा काम गर्न सुरु गरेका थिए । जनताको घरदैलोमा पुगेर सामाजिक जागरण र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन थालेपछि यी युवा एकाएक चर्चामा आएका हुन् ।
कांग्रेसको पछिल्लो अधिवेशनमा ठूलो मतअन्तरले परशुराम नगर सभापतिमा विजयी भएपछि उनले चुनावको तयारी सुरु गरेका थिए ।
परशुराम नगरपालिकाका निर्वतमान नगर प्रमुख तथा कांग्रेस डडेलधुराका सभापति भिमबहादुर साउंदले कांग्रेसका पुराना नेता हुदाहुदै सम्भावना बोकेका यी युवालाई नगर प्रमुखको टिकटका लागि सिफारिस गरेका थिए ।
बिहीबार नगर प्रमुखको सपथ लिएपछि कान्छा नगर प्रमुख जोशीले आफ्नो जितले युवाहरुले राम्रो गर्न सक्छन् भन्ने जन भावनाको कदर गर्दै आफूले काम गर्ने प्रतिक्रिया दिएका छन् । वातावरण विज्ञानका क्षेत्रमा राम्रो सम्भावनाका अवसर हककुंदाहुंककदै समाज सेवाको कठिन बाटो रोजेकोमा आफ्ना सामु निकै चुनौती रहेको पनि उनले वताए । ‘राजनीतिको वर्तमान शैलीप्रति जनता असन्तुष्ट छन्,’ उनले भने, ‘म आफ्नो नगरपालिकामा युवाहरुले चाहे भने समाजमात्र होइन राजनैतिक शैलीलाई समेत परिवर्तन गर्न सक्छन् भन्ने सन्देश दिने गरी काम गर्छु ।’
युवा नगर प्रमुख जोशीले भने जस्तो काम गर्न सहज भने उनलाई छैन । उनले नेतृत्व गरेको नगरपालिकामा उपमेयरसहित बहुमत सदस्यमा माओवादी केन्द्रले निर्वाचन जितेको छ । १२ वडामध्ये वहुमतका साथ ७ वडा माओवादी केन्द्रले निर्वाचन जितेको छ ।
गत स्थानीय निर्वाचनमा कांग्रेससँग ५४० मतले पराजित भएका माओवादी केन्द्रका उम्मेदवार माल यस पटक जोशीसँग १३७ मतले पराजित भएका छन् । तर, राम्रो गर्ने विषयमा माओवादी केन्द्रले पनि सहयोग गर्छन् भन्ने विश्वास जोशीले व्यक्त गरेका छन् ।