मौन अवधिमा मतदातालाई प्रलोभनमा पारीरहेका एमाले उम्मेदवारलाई रोक्न खोज्दा झडप भयो : कांग्रेस गोदावरी
अत्तरिया – नेपाली कांग्रेस गोदावरी नगर समितिले मौन अवधिमा मतदातालाई प्रलोभनमा पारिरहेका एमालेका कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको जनाएको छ ।

कांग्रेस गोदावरी नगर समितिले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै मतदातालाई प्रलोभनमा पारीरहेको सूचना पश्चात रोक्न खोज्दा झडपको स्थिति सिर्जना भएको जनाएको हो ।


नगर सभापति विर बहादुर चोखालद्धारा जारी विज्ञप्तीमा बैशाख २८ गते राती ९ बजे एमालेका मेयरका उम्मेदवार गोकर्ण भट्ट, वर्तमान मेयर हरिसिह साउँद, वडा नम्बर १ को अध्यक्षका उम्मेदवार शर्मानन्द भट्ट लगायतका नेता कार्यकर्ता वडा नम्बर ४ का बिभिन्न टोलमा पसेर मतदातालाई प्रलोभनमा पारीरहेको सूचना कांग्रेसका कार्यकर्ताले जानकारी पाएपछि पछ्याएर इलाका प्रहरी कार्यालय मालाखेतीमा जानकारी गराइएको उल्लेख छ ।

पछि राती ११ बजे वडा नम्बर ६ को वडा अध्यक्षका उम्मेदवार जग्गुराम चौधरीको घरमा करिब २ सय जनाको सहभागितामा खानपिन चलिरहेको सूचना पाएपछि कांग्रेसका कार्यकर्ताले सोधपुछ गर्दा झडप भएको विज्ञप्तीमा उल्लेख छ ।
‘नेपाली कांग्रेसका कार्यकर्ता माथि नेकपा एमाले वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार शर्मानन्द भट्टले नै हातपात गरी झडपको स्थिती सिर्जना गरेका थिए’ विज्ञप्तीमा भनिएको छ ‘उक्त घटनामा हामी थोरै संख्यामा भएकाले भित्रबाटै बत्ति बन्द गरी घरेलु हातहतियार सहित आक्रमण गर्न खोज्दा को ? के ? कसरी ? घाइते भए भन्ने हामीलाई नै जानकारी नभएको र उक्त घटना घटाउन मध्यरातीको समयमा नेकपा एमालेका उम्मेदवारहरुले सिर्जना गरेकोले निर्वाचन आचार संहिता विपरित कार्य गरेको हुँदा सोको तथ्य सत्य छानबिन गरी अभद्र क्रियाकलाप रोक्न समेत सुरक्षा निकायलाई पनि अनुरोध गर्दछौं ।’