सुरु भयो मौन अवधि
काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि शुरु भएको छ । मतदानाको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ ।

मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।

मतदानको समयमा प्रतिस्पर्धीहरुवीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन भनेर मौन अवधि शुरु गर्ने अन्तराष्ट्रिय प्रचलन छ ।

शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारविच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ । मौन अवधि शुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउछ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनु पर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने ।’
निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष÷विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र शेयर गर्न समेत रोक लगाएको छ । आचारसंहिता पालना र मौन अवधिमा पालनाको अनुगमन गर्न आयोगले १९ जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार, उनीहरुले प्रचारप्रसार मौन अवधि र मतगणनाको समेत अनुगमन गरी निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनेछन् ।
मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन भन्ने अपेक्षा गरिन्छ । यदि शुन्य अवधिको व्यवस्था नराख्ने हो र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्ने जोखिम रहन्छ ।