कञ्चनपुरमा कोरोना परिक्षण गर्नेको संख्या घट्यो, संक्रमणदर घटेन
कञ्चनपुर – महाकाली प्रादेशिक अस्पतालमा सोमबार ५० जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा संक्रमण देखियो । मंगलबार २४ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण देखियो । केही दिनयता महाकाली अस्पतालमा परीक्षणका लागि आउनेको संख्या घटे पनि संक्रमण दर भने घटेको छैन । अहिले पनि ७० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको छ ।

केही दिनयता संक्रमितको संख्यामा कमी आए पनि जिल्लामा संक्रमण दरमा भने कमी आएको छैन । परीक्षण गराउनेको संख्या पनि कम हुँदै गएको छ । ‘अहिले पनि ७० प्रतिशतभन्दा बढीमा संक्रमण देखिन थालेको छ,’ महाकाली प्रादेशिक अस्पतालको पीसीआर ल्याबका इन्चार्ज केशवराज जोशीले भने, ‘परीक्षण गराउनेको संख्या भने केही घटेको छ ।’

उनका अनुसार एक साताअघिसम्म एक सय बढी परीक्षणका लागि आउने गरेका थिए । अहिले ५०÷६० जनामात्रै परीक्षणका लागि आउने गरेका छन । पछिल्लो समय केमिकल अभावका कारण एकैपटक ठूलो संख्या परीक्षण गर्न सकिने अवस्थासमेत नरहेको उनले बताए । एक लटमा ९६ नमुना परीक्षणका लागि केमिकल आवश्यक पर्ने उनले बताए । जुन अहिले धनगढी र काठमाडौंलगायत अन्यत्र पनि पाउन गाह्रो भइरहेको छ ।

अहिले पनि रुघाखोकी, ज्वरोलगायत कोरोनासँग लक्षण मिल्ने खालका बिरामी घरघरै छन । उनीहरू घरमै थलिएर बसेका छन । तर पनि परीक्षणका लागि स्वास्थ्य संस्थामा आएका छैनन । जसका कारण संक्रमण समुदायमा तीव्र गतिमा फैलिइरहेको छ ।
‘अस्पतालमा अन्य बिरामीको उपचारका लागि आउनेमा समेत कोभिड देखिन थालेको छ,’ महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘इमर्जेन्सी कक्षमा उपचारका लागि आउनेमा पनि अधिकांशमा संक्रमण पुष्टि भइरहेको छ ।’ उनका अनुसार इमर्जेन्सीमा आउनेमध्ये ७० प्रतिशत बढीमा संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ४५ छ । अहिले पनि संक्रमित थपिने क्रम जारी छ । निको हुनेभन्दा दैनिक संक्रमित हुनेको संख्या अहिले पनि बढी नै छ । जसका कारण सक्रिय संक्रमितको संख्या कम हुन सकेको छैन ।
केही दिनयता भारतबाट घर फर्किनेमा भने संक्रमण कम देखिएको छ ।
गड्डाचौकी नाकामा गरिने परीक्षणका क्रममा अहिले दैनिक २५/३० जनामा संक्रमण देखिने गरेको हो । बुधबार ४ सय ४३ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको छ । माघ पहिलो सातासम्म गड्डाचौकी नाकामा दैनिक एक सय बढीमा संक्रमण देखिने गरेको थियो । (कान्तिपुरबाट)
