बैतडी प्रशासनद्धारा माघ मसान्त सम्म विद्यालय बन्द गर्न निर्देशन
बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले माघ मसान्तसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार बैतडीमा माघ मसान्तसम्म भीडभाड हुने क्रियाकलापमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

कार्यालयले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ । प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहहरूलाई पत्र लेख्दै कोभिड संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस र संघीय सरकारबाट निर्देशन भएका निर्णयहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।
विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषाका परीक्षा, चिकित्सा शिक्षाका सबै प्रयोगात्मक परीक्षाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै‚ खोप कार्यक्रमलाई जिल्लाभरी अभियानकै रुपमा सञ्चालन गर्न र विद्यालयहरुमा सञ्चालन भइरहेको खोप अभियानलाई प्रभावकारी बनाउन प्रशासनले आग्रह समेत गरेको छ । यहाँका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदैछ ।
भारतसंग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म संक्रमणका कारण १९ जनाको मृत्यु भइरहेको छ ।