होमस्टे मा संलग्न कृष्णपुरका महिला आत्मनिर्भर बन्दै
कञ्चनपुर – कृष्णपुर नगरपालिका– २ वाणिमा सञ्चालित विजयसाल सामुदायिक घरबास (होमस्टे) मा संलग्न महिला बेफुर्सदिला भएका छन । घरबासमा बसाइँका लागि पाहुना पुग्न थालेपछि महिला बेफुर्सदिला भएका हुन ।
कोरोना महामारीका कारण बन्द जस्तै रहेको घरबास व्यवसाय पाहुना पुग्ने क्रमसँगै तङ्ग्रिन थालेको छ । कोरोनाको संक्रमण घटेसँगै दैनिक पाँच देखि १० जनाको टोली घरबासमा पाहुनाका रुपमा पुग्न थालेको जनाइएको छ । घरबासमा बाह्यभन्दा आन्तरिक पाहुना बढी आउन थालेको घरबास व्यवसायमा संलग्न विस्पति चौधरीले बताए ।
पाहुनाले स्थानीय जातका कुखुराको मासु, सुकाइएको माछाको सुकुटी, घोघिँ, ढिँक्रीसँगै अनदी चामलको भातको बढी माग गर्ने गरेका छन् । ‘घरबासमा पुग्ने पाहुनाको पहिलो रोजाइ नै स्थानीय जातको कुखुरा हुने गरेको छ’ चौधरीले भने, ‘त्यसकै स्वादका लागि जिल्लाभित्र र निकटवर्ती भारतीय क्षेत्रका पाहुना आउने गरेका छन् ।’
परम्परागत तरिकाले पकाएर कुखुराको मासु पस्किने भएकाले पनि पाहुना लोभिने गरेका उनले बताए । कुखुराको मासुसँगै दाल, भात ३५० मा उपलब्ध गराइँदै आएको छ । मासु नभएको सादा खानाको भने घरबास सञ्चालन गरेका महिलाले प्रति व्यक्ति रु १५० लिने गरेका छन ।
घरबासमै बास बस्ने पाहुनालाई खानाका अतिरिक्त ५०० शुःल्क लिइने गरिन्छ । बास बस्ने पाहुनाका लागि गुणस्तरीय होटेलकै जस्तो घरायसी वातावरणमा सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । ‘थारु समुदायका सांस्कृतिक महत्व झल्काउने सखिया, छोक्रा, लठ्ठि, झुम्रा, मघौटालगायतका नृत्य हेर्न रुचाउने पाहुनाको टोलीबाट तीन हजार शुःल्क लिएर नृत्य देखाउने गरेका छौ’ स्थानीय परदेशनी चौधरीले भने, ‘थारु संस्कृतिमा रुचि राख्नेले नृत्यको माग गर्दछन्, त्यो माग थोरै मात्र आउने गरेको छ ।’
घरबास सञ्चालन गर्दै आएका महिलाले पाहुनाको सत्कारमा लाग्ने सबै खर्च कटाएर मासिक रुपमा १५ हजार देखि रु २५ हजारसम्म आम्दानी गर्दै आएका छन् । हाल ६ घरमा घरबास सञ्चालनमा छ । दुई घरमा छिट्टै घरबास सञ्चालनको तयारी गरिएको छ ।
‘घरबासमा जति बढी पाहुना पुग्छन्, जति धेरै बस्छन्, त्यसकै आधारमा आम्दानी समेत हुने गरेको छ, कुनै महिना धेरै आम्दानी हुन्छ, कुनै महिना थोरै पनि हुन्छ’ स्थानीय जमुना चौधरीले भनिन, ‘१५ हजारभन्दा बढी नै आम्दानी हुन्छ, कोरोनाको महामारीका बेला मात्रै घरबासमा पाहुना नपुग्दा सुनसान जस्तै थियो, अहिले पाहुना बढदै गएका छन् ।’ घरबासबाट आएको आम्दानीको १० प्रतिशत रकम महिलाले कोषमा जम्मा गर्ने गर्दछन् । कोषमा राखिएको रकमबाट भइपरी आउने खर्चसँगै बैठक, तालिम, गोष्ठी र नृत्यका लागि आवश्यक सामानको जोहो गर्न खर्च गरिँदै आएको उनले बताए ।
घरबासको आम्दानीको रकमबाट घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च सबै व्यहोरिँदै आएको स्थानीय राजकुमारी चौधरीले बताए । घरबासमा संलग्न सबै जना मुक्तकमैंया परिवारका महिला मात्रै रहेका छन् । ‘घरबास सञ्चालन नहुँदा महिलाले मजदूरी गरी जिविका चलाउँदै आएका थिए’ उनले भने, ‘नगरपालिका र दातृ निकायको पहलमा घरबास सञ्चालनमा ल्याइएपछि मजदूरी गर्ने दिनको अन्त्य भएको छ ।’
यस व्यवसायबाट आम्दानी मात्रै भएको नभइ सबै जनासँग चिनजान बढेको स्थानीय लीला चौधरीले बताए । नगरपालिकाले घरबास जाने मार्गमा प्रवेशद्वार, कालोपत्र सडक र खाजाघर निर्माण गरिदिएको छ । दातृ संस्थाले आवश्यक फर्निचरसँगै भाँडालगायत व्यवस्था गरिदिएका छन् ।
गोरु गाडा लाहुडमा बसालेर पाहुनालाई नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र सिस्ने सीमसार अवलोकनका लागि लैजाने व्यवस्थासमेत घरबासमा संलग्नले गरेका छन् । घरबाससँगै जोडिएको सार्वजनिक जग्गामा उद्यान निर्माणका लागि कार्यसमेत अगाडि बढाइएको छ । त्यसका लागि डिपिआर तयार भसकेको छ । निर्माणका लागि महिलाले नगरपालिकासँग आवश्यक रकमका लागि प्रस्ताव गरेका छन् ।
‘घरबास सञ्चालनमा संलग्न मुक्तकमैया परिवारका महिलालाई पर्यापर्यटनसँग जोडेर आर्थिक रुपमा सम्पन्न बनाउन कार्य अगाडि बढाएका छौ’ नगर प्रमुख कर्णबहादुर हमालले भने, ‘विपन्न मुक्तकमैंया परिवारको आर्थिक अवस्था सुधार गर्न घरबासले सघाउ पु¥याउने भएकाले यसको स्तरवृद्धिमा लागेका छौं ।’
घरबास नजिकै रहेका गडविजला ताल संरक्षण, ग्वासिसमैजी मन्दिरका भौतिक संरचना निर्माण, राना थारु, चौधरी थारु र पहाडी समुदायको लोपोन्मुख अवस्थामा पुगेको संस्कृति संरक्षणका लागिसमेत बजेटको व्यवस्था गरी कार्य अगाडि बढाउदै आएको नगर प्रमुख हमालले बताए ।
रासस