सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ धनगढीबाट सुरु
धनगढी – सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको हो ।
साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच उद्धघाटन गरे ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा सुरु भएको साइकल यात्र पुस ५ गतेसम्म चल्ने बताइएको छ ।
साइकल यात्रामा भारत लगायत देशका बिभिन्न ठाउँका साइकल राइडरहरुको सहभागिता रहेको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरतविक्रम शाहले बताए ।
धनगढी देखि सुरु भएको साइकल यात्रा गोदावरी, खानीडाँडा हँुदै डोटीको बुडरसम्म पुग्ने अध्यक्ष भरत बिक्रम शाहले बताए ।
भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जनासहित नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके, कैलाली र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागि रहेका छन् ।
यात्राको अन्तिम दिन डोटीको बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गरीने छ । धनगढी स्थित निसर्ग हस्पिटलको स्पोन्सरसीपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कारको व्यवस्था गरिएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक कुबेरबहादुर शाहीले बताए ।
डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरीमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उप–विजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार अस्पतालले स्पोन्सर गरेको छ ।
साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम ईकाइका निमित्त प्रमुख भोजराज पाठकले बताए ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कानून मन्त्री पूर्णा जोशी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेश त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।