धनगढी पुगेर देउवालाई पौडेलले काउन्टर ‘अर्ली इलेक्सन सम्भव छैन’
धनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन् । शनिबार धनगढी आएका नेता पौडेलले धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्ली इलेक्सन सम्भव नरहेको बताएका हुन ।
‘अर्ली इलेक्सन सम्भव छैन । संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो हामी अदालत गएका हौं’ पौडेलले भने ‘संसदले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।’
संसदको काम कारबाही अगाडि बढाएर सरकारले आफ्नो क्षमता देखाउनुुपर्ने पौडेलको भनाइ छ । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुुक्रबार काठमाडौँ फर्किएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने प्रतिक्रिया दिएका थिए ।
पौडेलले अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिममा ठूलो जनधनको क्षति गरेकाले सरकारले तत्काल प्याकेजमै राहतका कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन । त्यसका लागि आफूले सरकारको ध्यानाकर्षण समेत गराइसकेको उनले बताए ।
सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा विभिन्न स्थानमा आयोजना गरिने कार्यकर्ता भेलालाई सम्बोधन गर्न बरिष्ठ नेता पौडेल शनिबार धनगढी आएका हुन ।