कञ्चनपुरको भाईरल रोड भत्किनुको कारणबारे छानबिन गर्न माग
कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्ग (भाईरल रोड) बग्नुको कारणबारे छानविन गर्न माग गरिएको छ ।
विभिन्न राजनितिक दलका भातृ संगठनहरुले विज्ञप्ती जारी गर्दै भाईरल रोड बग्नुको कारण बारे छानबिन गर्न माग गरेका हुन ।
नेकपा (एमाले) भीमदत्त नगर कमिटीले विज्ञप्ति जारी गर्दै पहुँचमार्ग बग्नुको कारणबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
‘महाकाली नदीमा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माणमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन रहेको व्यापक जनगुनासो आएको हुँदा उक्त निर्माण कार्यको आवश्यक छानबिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ ।
यसैगरी नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुद्वारा जारी संयुक्त विज्ञप्तिमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडी बढीरहेको उक्त पहुँचमार्ग (भाईरल रोड) छतविछत भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
विज्ञप्तीमा भीमदत्त नगरपालिकाको वडा नं ११, १२, १३ र १४ लाई जोड्ने ६ लेनको महाकाली पुलको आयोजनामा भएको प्राविधिक कमजोरी गुणस्तरमा कमी तथा अन्य कमीकमजोरीका बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरी दोषी उपर कारबाही गरिनुपर्ने माग गरिएको छ ।
निर्माणाधीन चार लेनको पुलबाट भुजेलाखोलासम्म ३०० मिटरभन्दा बढी पहुँचमार्ग महाकाली नदीले बगाएको छ । सडक भत्किएपछि ठेकेदार कम्पनीले ठेक्का सम्झौताअनुसार गुणस्तरीय सामग्री प्रयोग नगरेको आरोप लागेको छ । स्थानीय बासिन्दाले बालुवाको प्रयोग गरी सडक निर्माण गर्दा भत्किएको आरोप लगाएका छन् ।
गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी सडक निर्माण गरिएको गुनासो आएको भन्दै राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले छुट्टाछुट्टै रूपमा विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन् ।