बाजुराको जगनाथ गाउँपालिका कार्यालय बाढीले बगायो
बाजुरा – बेमौषमी वर्षाका कारण आएको बाढीले जिल्लाको जगन्नाथ गाउँपालिकाको कार्यालय बगाएको छ ।
गाउँपालिकाको केन्द्रको वडा नम्बर २ र ३ को सीमानामा पर्ने जुड्डी खोलामा आएको बाढीले गाउँपालिकाको कोरोना अस्थायी अस्पताल, गाउँपालिकाले प्रशासनिक काम संचालन गर्दै आएको टिनको टहरालगायत सहित बगाएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए ।
बुधबार राति आएको जुड्डी खोलाको बाढीले गाउँपालिकाको केन्द्रतिरको भाग कटान गरेपछि भवन बगेको उनले बताए ।
खोलाले कार्यालयका फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्प्युटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, लुगाकपडा, गाँउपालिकाको खेल मैदान, जुड्डीखोला लघु जलविधुत योजनाको तार र पोल बगाएको अध्यक्ष शाहीले बताए ।
बाढीले गाउँपालिका कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका ७ कोठामा क्षति पुगेको रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।