खाेज्नुहाेस

वर्षाले धानबालीमा क्षती पुग्दा किसान चिन्तित

Image

धनगढी – आईतबाररातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् ।

चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले बताए ।

attariya hospital

उनले भने– ‘गए राति परेको पानीले खेतमा काटेको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपियो ।’ सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिन देखि किसान व्यस्त थिए ।

खेतमा पानी जमेपछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । ‘यसपाली विगतको भन्दा पाँच देखि सात प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान थियो’ उनले भने ‘आइतबार दिउँसोसम्म किसान धान काट्नमै व्यस्त थिए, राति अचानक भएको वर्षाले बालीमा क्षति पु¥यायो ।’

navjiwan hospital

क्षतिको एकिन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिन अघि नै बाली भित्र्याइसकेको भएपनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए । किसानको मुख्य आम्दानीको स्रोतका रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।

maya metro hospital

प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबै भन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।

यस्तै पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ ।

Karma Consultancy

यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकोले धान बालीको उत्पादन वृद्धि हुने आँकलन गरिएको थियो । यद्यपी धानबालीमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावका साथै कतिपय क्षेत्रमा फड्के र गबारो किराको समस्या देखिएको थियो ।

रासस