यस अत्तरिया खबर राष्ट्रिय दैनिकले प्रकाशनको एक वर्ष पूरा गरेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियाबाट २०७७ भाद्र १ गतेदेखि प्रकाशन सुरु भएको अत्तरिया खबर दैनिकको सफलता पूर्वक प्रकाशनको आज एक वर्ष पूरा भएको छ ।

विश्व नै कोभिड–१९ को महामारीसंग लडिरहेको बखत सुदूरपश्चिम प्रदेश पनि त्यो बाट अछुतो रहन सकेको थिएन । सुदूरपश्चिममा कोभिड–१९ कोरोनाको उच्च जोखिममा थियो ।

कोरोनाकै कारण राष्ट्रिय मात्र नभएर सुदूरपश्चिमको पत्रकारिताको अवस्था अत्यन्त नाजुक थियो । लामो समयदेखि प्रकाशन हुँदै आएका यहाँका धेरै जसो पत्रपत्रिका बन्द हुन पुगेका थिए ।

कोरोनाका कारण आर्थिक अवस्था खस्केको थियो । बजार, व्यवसाय, उद्योग, कलकारखाना सबै धराशायी थिए । तर, हामीले सोही बेला सबै चुनौति जान्दाजान्दै पत्रिका प्रकाशन आरम्भ गर्ने आट ग-यौ र पत्रिका प्रकाशन आरम्भ ग-यौ । पत्रिका प्रकाशनका लागि आवश्यक भनेकै विज्ञापन हो ।

तर, सबै क्षेत्र धरासायी भएको अवस्थामा विज्ञापन पाउन सजिलो थिएन । आफैले आर्थिक भार व्यहोर्ने गरी हामीले प्रकाशन सुरु गरेको अत्तरिया खबर दैनिक प्रकाशनमा आदरणीय सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाताले देखाउनुभएको स्नेह, सद्भाव र विश्वासले हामीलाई निकै उत्साही बनायो र हामी यहाँसम्म पुग्न सफल भयौं ।
साथै भविष्यका लागि विगतका कमीकमजोरी हटाउँदै थप उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्न दिशा निर्देश गरेको हामीले महसुस गरेका छौ । हाम्रो प्रमुख नारा नै सत्य र निष्पक्ष खबरको संवाहक राखेर हामीले प्रकाशन सुरु गरेको यस दैनिकको दोश्रो वर्ष प्रवेशको अवसरमा हामी प्रतिबद्धता जनाउन चाहन्छौं कि सुशासन, विकास, समृद्धिका लागि हामी आफ्नो भूमिका इमान्दारीतापूर्वक पूरा गर्ने कोशिष गर्नेछौ ।
हामी प्रकाशनको प्रारम्भदेखि आधारभूत जीवन पनि जिउन नसकेका आम जनताको समृद्धिको पक्षमा निरन्तर उभिने छौं । सत्ता र शक्तिमा रहेकामाथि निरन्तर प्रश्न उठाउने र जनताको तर्फबाट वकालत गर्ने काममा हामी निरन्तर कलम चलाउँने छौ ।
जनताको आकांक्षा र अपेक्षा बिपरित भाग्ने राजनीतिक दलमाथि हाम्रो सदाझै खबरदारी रहनेछ । र, अन्तमा फेरि पनि सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता प्रति स्नेह, सद्भाव, सहयोग र विश्वासको अपेक्षा गर्दछौं ।
सत्य, तथ्य र निष्पक्ष समाचारको दौडमा जुटेका हामीलाई छोटो समयमा जुन माया र सहयोग प्राप्त भइरहेको छ फेरि पनि थप मायासंगै उचित सल्लाह तथा सुझाबको पनि अपेक्षा गरेका छौ ।
पत्रिकाको भिडमा हामी छुट्टै पहिचान बनाउँदै उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिताका लागि पुनः पनि प्रतिबद्धता जनाउँदछौं ।