नेपालका प्रसिद्ध धान वैज्ञानिक बस्नेतको निधन
काठमाडौँ – प्रसिद्ध धान वैज्ञानिक डा भोलामानसिंह बस्नेतको निधन भएको छ । कोभिड महामारीबाट पीडित बनेका बस्नेतको उपचारको क्रममा शनिबार बिहान ६ बजेर ३५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
बस्नेतका जेठी छोरी प्रज्ञा बस्नेतका अनुसार कोभिडबाट प्रभावित भएका बस्नेतको उपचारको लागि साउन १६ गते ओम अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रबार बेलुकासम्म स्वास्थ्य अवस्था सामान्य भए पनि राति १ बजेदेखि अवस्था बिग्रिँदै गएको थियो । छातिमा समस्या आएपछि भेन्टिलेटरमा राखेर थप उपचार सुरु भए पनि स्वास्थ्यमा सुधार आउन नसक्दा उनको निधन भएको हो ।
धान विज्ञको रुपमा प्रसिद्धि कमाएका बस्नेत नेपालको धानको जातको विकास, उन्मोचनका साथै यो क्षेत्रको प्रवर्द्धनका लागि निक्कै काम गरेका थिए ।
धानको विषयमा विषयगत् दख्खलका कारण अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सम्मानित भइसकेका बस्नेतले कृषिसम्बन्धी विभिन्न पुस्तकसमेत प्रकाशित गरेका थिए ।
आफू नार्कबाट रिटायर्ड भए पनि धानको क्षेत्रबाट टायर्ड नभएको थेगो नै बनेको थियो । कृषि क्षेत्रका विज्ञहरुले उनको निधनले कृषि क्षेत्रले ठूलो वैज्ञानिक गुमाएको बताएका छन् ।