बझाङको साइपालमा कोरोना संक्रमित शुन्य भएपछि विद्यालय संचालनमा ल्याइयो
रमेश बहादुर सिह/बझाङ – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका बझाङका दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । साईपाल, तलकोट गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।
बुधबारदेखि साइपाल गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताएका छन ।
‘अन्य कुनै पनि बैकल्पिक उपाए नभएकाले हामिले विधार्थीको भबिश्य हेरेर बिधालय सञ्चालनमा ल्याएका हौ ।’ उनले भने ‘हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ ।’
लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । साईपाल गाउँपालिकामा ८ वटा सामुदायिक विद्यालय छन् । यहाँ एक टोलमा एक विद्यालय रहेकोले कोरोना फैलिने सम्भावना कम गरेको गाउँपालिकाको तर्क छ ।
अहिले उक्त गाउँपालिकामा बाहिरबाट आउन रोक लगाईएको छ भने १८ बर्ष माथिका सबै नागरिकलाई कोरोना खोप लगाइएको जनाईएको छ ।
भौगोलिक विकटताले गर्दा नेट इन्टरनेटको सुबिधा नभएकोले विद्यालय संचालन गर्नु परेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए ।
तलकोटले यसअघि नै विद्यालय पुनः सञ्चालनमा ल्याइसकेको छ । सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिकाले जनाएको छ । यद्यपि जिल्लाको अन्य क्षेत्रका जयपृथ्वी नगरपालिका र छबिस पाथिभरा गाउँपालिकामा भने विद्यालय खोल्नेबारे अन्योल कायमै छ ।