कैलालीमा नक्कली आन्तरिक राजस्व बिभागको स्टिकर टासिने गरेको खुलासा
अत्तरिया – कैलालीमा नक्कली आन्तरिक राजस्व बिभागको स्टिकर टासिने गरेको खुलेको छ । प्रहरीले सोहि घटनामा सग्लन ५ जना पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका – ७ स्थित तालबन्द सडकखण्डमाबाट राजस्व बिभाग लेखिएको ७७ स्टिकर रोल (स्टिकर संख्या २,८८,६७४) बरामद गरिएको हो ।
उक्त स्टिकर संगै भारतको लखिमपुर खिरी ग्राम पञ्चायत बरौठाका १९ बर्षीय संजित कुमार, सोहि ठाउँका २० बर्षीय रिङ्कु कुमार, २२ बर्षीय सुरेश कुमार, रौतहटको गरुडा नगरपालिका १ का ४० बर्षीय राज कुमार शाह, पर्साको विरगंज नगरपालिका – १३ का ५५ बर्षीय विजय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले संजित कुमारले चलाएको ना ३२ क ६२८१ नंबरको मोटरसाईकल चेकजाँच सोहि मोटरसाइकलमा सवार रिङ्कु कुमारको साथबाट उक्त स्टिकर बरामद गरिएको जनाएको छ । घटनाको बारेमा अनुसन्धान गर्दा अन्य ३ जना पक्राउ परेका हुन ।
बरामद गरिएको स्टिकरमा एउटै नम्बर पटक–पटक दोहोरिएको पाईएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरले उक्त स्टिकर वेष्टर्न लिकर्स प्रालिबाट ल्याएर आफू बस्ने कोठामा छाप लगाउन लगिरहेको भन्ने खुलेको जनाईएको छ ।
पक्राउ परेकाहरुको कोठामा चेकजाँच गर्दा ३ थान छाप, ३ थान स्ट्याम प्याड र मसी समेत फेला पारेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा वेष्टर्न लिकर्स प्रालिमा पनि स्टिकर भण्डारण गरेको पाईएकाले सिल गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताएका छन ।
उनले उक्त घटनाको थप अनुसन्धानका लागि पक्राउ परेका स्टिकर सहितका सामग्री आन्तरिक राजश्व कार्यालय धनगढी पठाएको बताए ।