अनुदानमा प्याज ढुवानी भएपछि बाजुराको स्वामिकार्तिकका कृषक खुसी
बाजुरा – घरबाटै प्याज ढुवानी हुन थालेपछि बाजुराको स्वामिकार्तिकका कृषक खुसी भएका छन । बजारभन्दा टाढा रहेका गाउँका किसानहरुका घरबाटै प्याज ढुवानी भएपछि त्यहाका किसानहरुले खुसी प्रकट गरेका हुन ।
जिल्लाको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर–१ बाहुनीका कृषकको प्याज घरबाटै ढुवानी भएको हो ।
भौगोलिक विकटताका कारण प्याजको उत्पादन बढी भएपनि ढुवानी हुन नसक्दा बारीको प्याज बारीमै कुहिने हो की भन्ने चिन्ताले आत्तिएका यहाँका किसानले अब भने राहतको सास फेर्न पाएका छन ।
कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान सहयोगले खच्चडमार्फत किसानले उत्पादन गरेका प्याजहरु घरबाटै ढुवानी भएका हुन ।
कृषकले उत्पादन गरेको प्याज बजारसम्म पु¥याउन नपाइ घरमै कुहिन थालेपछि पहिलो चरणमा १२ क्विन्टल ब्याज जिल्ला सदरमुकाम मार्तडीमा पु¥याइएको हो ।
ढुवानी गरिएको सबै प्याज बजारमा प्रति केजी रु. ५० का दरले बिक्री वितरण भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोभिन्द्र सिजापतिले बताए ।
बर्षातले गर्दा बाटो अवरुद्ध भएका कारण बाजुरा जिल्लाबाट प्याज बाहिर पठाउन सकिएको छैन । अबको ३ दिन भित्रै फेरि प्याज मार्तडीसम्म आउने र बाटो खुल्ने बित्तिकै बाहिरी जिल्लामा पनि पठाइने ज्ञान केन्द्र प्रमुख सिँजापतिले बताए ।
किसानलाई प्रति केजी रु. ३५ का दरले ढुवानी अनुदान दिइएको प्याज कृषकले बजारमा प्रति केजी रु.५० का दरले बिक्री गरेका छन् । ढुवानी अभावमा मेहनतले फलाएको प्याज घरमै कुहिन थालेपछि चिन्तित बनेका किसान अनुदान सहयोगमा बजारसम्म पु¥याउन पाएपछि धेरै खुसी भएका छन् ।
बाहुनी गाउँका स्थानीय विष्णु बिकले अनुदानमा प्याज ढुवानी भएपछि मेहनतको फल पाएको बताए । बजारको माग बढे गाउँ–गाउँ बाट अनुदानमा प्याज बजारसम्म ढुवानी गरिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।