महाकालीमा दाउरा समेटेर जिविका चलाउदै कञ्चनपुरका युवा
कञ्चनपुर – २०/२२ वर्षका चार/पाँच जनाको समूह । टाउकोमा हावा भरिएको पुरानो ट्युब । केहीका हातमा आरा, कसैकामा बञ्चरो । महाकाली नदी किनारमा निर्माणाधीन ६ लेनको चिल्लो पक्की सडक । सबैको नजर महाकाली नदीको उर्लंदो भेलमै थियो ।
उनीहरू सबै कति बेला नदीको भेलमा दाउरा आउँछ र नदीमा हाम फाल्ने भनेर तयारीमा थिए । भीमदत्त नगरपालिकाको महाकाली नदी किनारमा वडा ११, १२ र १३ का युवाहरू यति बेला यसैगरी डुलिरहन्छन । कति बेला दाउरा आउँछ र उर्लंदो भेलामा हाम फाल्ने भन्ने उनीहरूको तयारी हुन्छ । उनीहरू दिनभरि यसैगरी महाकाली नदी किनारमै भेटिन्छन ।
‘दिनभरि नदी किनारमै बिताउँछौ’ भीमदत्त–१२ का धनबहादुर सुनारले भने, ‘बिहानदेखि साँझसम्म कति बेला दाउरा बगेर आउँछ भनेर नदी किनामै कुरेर बसेका हुन्छौं ।’ उनका अनुसार महाकालीमा बाढी आउन सुरु भएदेखि दाउरा संकलनका लागि युवाहरूको बास नदी किनारमै हुन्छ ।
‘दिनभरि नदीमा कुरेर एक डन्लप दाउरा संकलन हुन्छ,’ सुनारले भने, ‘त्यो दाउरा तीन/चार हजारमा बिक्री हुन्छ ।’ उनी १०/१२ वर्षदेखि नदीमा दाउरा संकलन गरेर बिक्री गर्दै आएका छन । यसैबाट उनले घर परिवारको खर्चको जोहो गर्दै आएका छन ।
‘घरमा जलाउनेदेखि दुई/चार पैसा कमाउन यही महाकालीमा बगेर आएको दाउराबाट हुन्छ,’ भीमदत्त–१२ ऐरीका स्थानीय सुरज चैसिरले भने, ‘दिनभरि नदीमा ट्युबमा तरेर दाउरा संकलन गर्दै हिँड्छौं ।’ नदी किनारका करिब ५०/६० जना युवा यसैगरी कुदिरहन्छन ।
महाकालीमा ट्युबबाट संकलित दाउराबाट नदी किनारका बासिन्दाको जीविका चलेको हुन्छ । ‘हाम्रो गुजारा यही नदीबाट चलेको छ,’ भीमदत्त–१२ का विनोद चौधरीले भने, ‘बर्खामा दिनभरि नदीमा डुलेर बटुलेको दाउराबाट दुई/तीन हजार आउँछ ।’ महाकालीबाट संकलन गरेको दाउरा प्रतिट्रली ६ देखि ८ हजारसम्म बिक्री हुन्छ ।
दिनमा ४/५ जनाको समूहले एक ट्रलीसम्म दाउरा संकलन हुन्थ्यो । त्यही दाउरा बेचेर युवाहरूले घर परिवारको जोहो गरिरहेका छन । ‘कुनै दिन दिनभरि डुलेर थोरै पनि दाउरा संकलन हुँदैन’ चैसिरले भने, ‘कहिले एकै दिनमा दुई/तीन ट्रली पनि जम्मा हुन्छ ।’ (कान्तिपुरबाट)