अत्तरियामा रहेको सत्यवती एकेडेमीमा विज्ञान संकायको अध्यापन गराईने
अत्तरिया – कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीमा विज्ञान संकायको अध्यापन गराईने भएको छ । एकेडेमीले चालु आर्थिक वर्षदेखी कक्षा ११ मा विज्ञान संकायको अध्यापन सुरु गर्ने भएको हो ।
अत्तरियाक्षेत्रका विद्यार्थीहरु विज्ञान संकायका लागी धनगढी पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न आफुले विद्यालयमा विज्ञान संकाय सुरु गरेको विद्यालयका सञ्चालक विर बहादुर कडायतले जानकारी दिए ।
विज्ञान पढ्न ईच्छुक विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न र यहाँका विद्यार्थीहरुलाई बाहिरी क्षेत्रमा जानबाट रोक्न आफुले प्रयास थालेको उनले बताए ।
विद्यालयमा संकाय नयाँ भएपनि अध्यापन गराउन आएका शिक्षकहरु पुरानै र अनुभवी भएकाले विद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त गर्ने उनको विश्वास छ । आफु पनि सोही विषयसम्बन्धी विज्ञ भएकाले आफुलाई उक्त विषयको अध्यापनमा आउने समस्या तथा त्यस्ता समस्याहरुको निराकरणका बारेमा जानकारी भएको उनले बताए ।
कोरोना महामारीको बिचमा पनि विज्ञान संकाय सञ्चालन गरेका उनले शिक्षा लाई व्यवसायीक मात्रै नभई सेवामुखी पनी बनाउनुपर्ने बताए । ‘महामारीको बिचमा पनि विद्यालयमा विज्ञानसंकाय सञ्चालनमा ल्याएको छु’ उनले भने ‘यस्तो विषम परिस्थितिमा यहाँका विद्यार्थीहरु आर्थिक अवस्थाका कारण मात्रै नभई स्वास्थ्यका कारण पनि धेरै टाढा गएर विज्ञान संकाय पढ्न सक्ने अवस्था छैन, त्यस्ता विद्यार्थीहरुको चाहना पुरा गर्ने प्रयास मेरो हो ।’
उनले विद्यालयमा अत्याधुनिक ल्याबको व्यवस्था रहेको बताउदै उनले धनगढीमा लामो समयदेखी यही विषय अध्यापन गराउदै आएका शिक्षकहरुले अध्यापन गराउने समेत बताए । विद्यालयमा स्मार्ट बोर्डबाट विद्यार्थीहरुलाई सिकाईने बताउदै उनले विद्यार्थीलाई प्रत्येक महिनामा प्रवेश परिक्षा तयारी कक्षाहरु पनि दिईने बताए ।
यसैसिलसिलामा विद्यालयले विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ । एसईई परिक्षा दिई बसेका र विज्ञान विषय पढ्न ईच्छुक विद्यार्थीहरुलाई समावेश गरि विद्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा विद्यालयमा विज्ञान संकाय अन्तरगतका विषयहरु अध्यापन गराउने शिक्षकहरुलाई समेत सहभागी थिए । उक्त विद्यालय अत्तरियाक्षेत्रमा नै गुणस्तरिय शिक्षा प्रदान गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल विद्यालयका रुपमा परिचित छ ।