बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने
रमेश बहादुर सिह/बझाङ– बझाङका चार स्थानिय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन ।
जिल्लाका दुर्गाथली, थलारा, वित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिकाले कार्यविधि नै बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका ५० वर्ष भन्दा माथिका एकल पुरुषलाई भत्ता दिने भएका हुन ।
उनिहरुले मासिक ५ सय देखी २ हजार रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् । जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले यसअघि २०७७ सालदेखी नै कार्यविधि बनाई भत्ता दिन सुरु गरेका हुन भने दुर्गाथली र वित्थडचिर गाउँपालिकाले चालु आर्थिक वर्षदेखी एकल पुरुषलाई भत्ता दिने भएका छन् ।
श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई हटाउन एकल पुरुष भत्ताको व्यवस्था गरेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए ।
समाजमा एकल महिलाजस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले नगरपालिकाले एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएको जयपृथ्वी नगरपालिकाकी प्रवक्ता सविता खड्काले बताईन ।
आर्थिक अवस्था कमजोर भएर एकल पुरुषले सामान्य उपचार समेत पाउन नसकेको र बिहान–बेलुका छाक टार्न मुस्किल भएकाले त्यस्ता एकल पुरुषको संख्या पहिचान गरी सामाजिक सुरक्षा भत्ता दिन थालिएको उने बताईन ।