गोदावरीका स्वास्थ्यकर्मीले बुझाए अन्तरक्रियामा सहभागीलाई स्तनपानको महत्व
अत्तरिया – विश्व स्तनपान सप्ताहको अवसरमा गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । श्रावण १७ देखि २३ सम्म संचालित अभियान अन्तरगत शुक्रबार वडा नम्बर १ को भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
नगरपालिकाकाकी नगर उपप्रमुख रत्ना कडायतको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा स्तनपानको महत्वका बारेमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी र सिनियर अहेव अधिकृत वीर बहादुर कुँवरले सहि स्तनपानको महत्वका बारेमा जानकारी गराएका थिए ।
स्तनपानको महत्वका बारेमा बताउँदै स्वास्थ्य शाखा प्रमुख अवस्थीले २ बर्ष सम्म बच्चालाई आमाको दूध अनिवार्य रुपमा खुवाउनु पर्ने बताए । उनले बच्चा जन्मेको १ घण्टा भित्र आमाको दूध खुवाउन आवश्यक रहेको बताए ।
‘जन्मेको एक घण्टा भित्र आमाको बिगौते दूध खुवाँउदा बच्चाको रोग प्रतिरोधात्मक क्षमता विकास हुने गर्दछ भने आमामा पनि दूध उत्पादन गर्ने हर्मोन सक्रिय हुन्छन’ उनले भने ‘बच्चालाई पहिलो खोप भनेको आमाको बिगौते दूध हो ।’
उनले पूर्ण रुपमा स्तनपान गराउन सही तरिका अवलम्बन गरिनु पर्ने बताए । ‘स्तनपान गराउँदा कम्तिमा १० मिनेट बच्चालाई दूध चुसाउनु पर्छ र कम्तिमा पनि दिनमा १० देखि १२ पटक स्तनपान गराउन आवश्यक छ’ उनले भने ‘बच्चा रोएपछि मात्रै दुध खुवाउने चलन पनि हाम्रो समाजमा छ । तर, त्यो गलत हो । बच्चा नरोएको भएपनि दिनमा २÷२ घण्टाको फरक र रातीमा तिन देखि चार घण्टाको फरकमा दूध खुवाउनु पर्छ ।’
आमाले जति धेरै दूध चुसायो त्यति धेरै दूध उत्पादन हुने बताउँदै स्वास्थ्य शाखा प्रमुख अवस्थीले दूध उत्पादन भएन भनेर ६ महिना सम्म कुनै पनि हालतमा बाहिरी दूध खुवाउन नहुने बताए ।
उनले पूर्ण स्तनपान गराउँदा आमामा पाठेघरको समस्या, स्तन क्यान्सर लगायतका समस्या पनि नहुने बताए । ‘पुर्ण स्तनपानले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ’ उनले भने ‘बच्चाको दिमागको ८० प्रतिशत विकास २ बर्ष भित्रमै हुने गर्दछ । दुई बर्ष आमाको दुध खुवाए बच्चा मानसिक रुपमा तन्दुरस्त हुने गर्दछ ।’
स्तनपानको महत्वका बारेमा जानकारी दिदै सिनियर अहेव अधिकृत कुँवरले सही स्तनपान गराउन सके बच्चामा स्वास्थ्य समस्या धेरै कम हुने बताए । उनले सही स्तनपान नभएमा कुपोषित बालक कुपोषित हुने र त्यसले देशको ग्राह्यस्थ उत्पादनमा नै कमि ल्याउन बताए ।
‘अहिलेकै अवस्थामा देशमा कुपोषण यथावत रहेमा देशको कुल ग्राह्यस्थ उत्पादनमा ११ प्रतिशत ह्रास आउँन्छ’ उनले भने ‘त्यसैले स्तनपान देशको अर्थतन्त्र कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्छ ।’ उनले सही स्तनपान गराएमा बाल मृत्युदरमा पनि कमी आउने बताए । उनले जन्मेको १ घण्टा भित्रै आमाको दूध खुवाउने हो भने पनि लाखै बालबालिकाको ज्यान जोगाउन सकिने बताए ।
नेपालमा एक घण्टा भित्रमै स्तनपान गराउनेको संख्या अझै पनि ५० प्रतिशत मात्रै रहेको सिनियर अहेव अधिकृत कुँवरले बताए । उनले बच्चा जन्मेको ६ महिना सम्म पनि आमाको मात्रै दूध खुवाउनु पर्ने भएपनि नेपालमा त्यो नियम ५५ प्रतिशत आमाले मात्रै पालना गरेको बताए । ‘यी लापरवाहिका कारण नेपालमा कुपोषणको समस्यामा कमी आउन सकेको छैन’ उनले भने ‘नेपालमा अझै पनि ५ बर्ष मुनिका जम्मा मर्ने बच्चा मध्ये ५३ प्रतिशत बच्चाको मर्ने इनडाइरेक्ट कारण कुपोषण बन्न पुगेको छ ।’
उनले नेपालमा अहिले ३६ प्रतिशत ५ वर्ष मुनिका बालबालिका उमेर अनुसार नबढेको र त्यो संख्या सुदूरपश्चिममा ४० प्रतिशत रहेको बताए । त्यस्तै ५ वर्ष मुनिका २७ प्रतिशत बालबालिकाको उमेर अनुसारको तौल नभएको र त्यो संख्या सुदूरपश्चिममा ३३ प्रतिशत रहेको छ उनले भने नेपालमा ख्याउटेपनको दर पनि १० प्रतिशत रहेको बताए ।
उनले यी सबै जोखिबाट बचाउन स्तनपानको ठूलो महत्व भएकाले यसका बारेमा सबैले ध्यान दिन आवश्यक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख कडायतले स्तनपानको महत्वका बारेमा हजार दिने आमाहरूलाई जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताइन । उनले बालबालिकालाई कुपोषित हुनबाट बचाउनको लागि २ वर्ष सम्म स्थनपानको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
‘स्तनपानको महत्वका बारेमा प्रत्येक आमाहरूले जान्न जरुरी छ’ उनले भनिन् ‘गोदावरी नगरपालिकाले सुनौलो हजार दिने आमा कार्यक्रम मार्फत कोसेली वितरण गरिरहेको छ । यो कार्यक्रम आगामी दिनका लागि पनि निरन्तरता दिइने छ ।’ उनले बच्चा सँगै हजार दिनका आमाहरूले पनि स्वास्थ्य र पोषिलो खानेकुरा खानका लागि बिशेष ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले देशको जनशक्ति कस्तो उत्पादन गर्ने भन्ने कुरा सुनौला हजार दिनले तय गर्ने बताए । उनले प्राकृतिक रुपमा चलेका कुराहरू मात्रै अवलम्बन गरेर बच्चालाई आमाको दूध मात्रै खुवाउन आवश्यक रहेको बताए । ‘विकास भनेको बाटो, पुल बन्नु मात्रै नभएर मानव विकास सूचकांक पनि सुधार हुनु हो’ उनले भने ‘मानव विकास सूचकांक बढाउनका लागि बालबालिकाको मृत्युदरमा सुधार आउनु प¥यो । बालबालिका कुपोषित हुन भएन ।’
कार्यक्रममा वडा नम्बर १ का कार्यवाहक अध्यक्ष कृत बहादुर चन्दले हजार दिने आमा र बच्चाको स्याहार सुसारमा परिवारले पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले हजार दिने महिलाको प्रयासले मात्रै बच्चाको उचित स्याहार नहुने भएकाले परिवारले पनि पोषिलो खानेकुरा लगायतका विषयमा ध्यान दिनुपर्ने बताए ।