सुनचोरी प्रकरणमा पक्राउ परेका बैतडीका २ जना जेल चलान
बैतडी – मन्दिरको सुन चोरी प्रकरणमा पक्राउ परेका ७ जनामध्ये दुई जनालाई कारागार चलान गरिएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका –१ रीमस्थित लटिनाथ मन्दिरबाट गत पौषमा चोरी भएको ९ तोला सुन मध्ये पौने चार तोला सुन सहित प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ७ जना मध्ये २ जनालाई कारागार चलान भएको हो भने ५ जना धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बैतडीका न्यायधीश तीलकबहादुर कार्कीको एकल इजलासले दुई जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मन्दिरबाट सुन चोरीमा संलग्न दोगडाकेदार गाउँपालिका –१ रीमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको छ ।
यस्तै चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी दशरथचन्द नगरपालिका –४ गढीका कञ्चन पौडेल, गणेश पौडेल र दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु जनही ५० हजार रुपैया धरौटीमा रिहा भएका छन भने दोगडाकेदार गाउँपालिका –१ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका छन् ।