बझाङ– बझाङको तलकोट गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । जिल्लाको–तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा टेलिकमको नयाँ फोरजी सेवाका लागि बिटीएस टावर जडान कार्य सम्पन्न भएसँगै बिहीबारदेखि तलकोटमा फोरजी सेवा सञ्चालनमा आएको हो ।

टेलिकमका सुदूरपश्चिम प्रादेशिक निर्देशनालय अत्तरियाका इन्जिनियर तिलक धामीका अनुसार नयाँ बिटीएस टावर बिहीबार अन भई फोरजी सेवा सुरु भएको छ । प्राविधिक समायोजनअनुसार टुजी सेवा शुक्रबारदेखि चरणबद्ध रुपमा हट्दै जाने उनले बताए । उनले स्थानीयलाई सेवाप्रवाह सुदृढीकरणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।


जिल्लाको तलकोट वडा नं.१ र ४ मा फोरजी सेवा सञ्चालनमा आएको छ भने बाँकी जयपृथ्वी नगरपालिका–१ र ५ तथा छबिस पाथिभरा गाउँपालिका–१ तथा खप्तड छान्ना गाउँपालिकामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गरिने बताईएको छ । ती क्षेत्रमा भौतिक संरचना बनिसकेको र बिटीएस उपकरणहरु जडानभएपछि सेवा सञ्चालन हुने टेलिकमले जनाएको छ ।
तलकोट वडा नं.४ का वडाअध्यक्ष गोरख बहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको जानकारी दिए । उनले फोरजी सेवा सञ्चलनमा आएसँगै स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा सहज हुने उल्लेख गरे ।















