अत्तरिया – सोमबार सार्वजनिक १२ कक्षाको नतिजा अनुसार देशभरमा सुदूरपश्चिम प्रदेश छैटौँ स्थानमा रहेको छ । परीक्षामा सहभागी उत्तीर्ण (ग्रेडेड) भएको प्रतिशतको आधारमा सुदूरपश्चिम छैटौँ स्थानमा रहेको हो । देशभर कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट ५४.३९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा ३६ हजार ४१४ जनाले परीक्षा दिएकोमा १९ हजार ८०६ विद्यार्थी उत्तीर्ण भएका छन् भने १६ हजार ६०८ जना अर्थात् ४५.६१ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । प्रदेश अनुसारको नतिजा हेर्दा सबैभन्दा कमजोर कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएका छन् कर्णालीबाट २५ हजार ४५८ जनाले परीक्षा दिएकोमा १२ हजार ७७७ जना (५०.१८ प्रतिशत) ग्रेडेड र १२ हजार ६८१ जना (४९.८१ प्रतिशत) ननग्रेडेड भएका छन् ।



सबैभन्दा धेरै उत्तीर्ण परीक्षार्थी बागमती प्रदेशबाट भएका छन् । १ लाख २४ हजार ८४१ जनाले परीक्षा दिएकोमा ८७ हजार ९७६ जना ग्रेडेड (७०.४७ प्रतिशत) भएका छन् भने ३६ हजार ८६५ (२९.५३ प्रतिशत) जना ननग्रेडेड भएका छन् ।
कोसी प्रदेशमा ६२ हजार १४१ जनाले परीक्षा दिएकोमा ३७ हजार १६२ (५९.८१ प्रतिशत) ग्रेडेड र २४ हजार ९७९ (४०.१९ प्रतिशत ) जना ननग्रेडेड भएका छन् । मधेस प्रदेशमा ५३ हजार १६६ जनाले परीक्षा दिएकोमा २९ हजार ८४३ जना (५६.१३ प्रतिशत) ग्रेडेड हुँदा २३ हजार ३२३ जना (४३.८७ प्रतिशत) ननग्रेडेड भएका छन् ।
गण्डकी प्रदेशमा २८ हजार २४१ जनाले परीक्षा दिएकोमा १८ हजार १३८ जना (६४.२२ प्रतिशत) उत्तीर्ण भएका छन् भने १० हजार १०३ जना (३५.७७ प्रतिशत) ननग्रेडेड भएका छन् । लुम्बिनी प्रदेशमा ६७ हजार ८६ जनाले परीक्षा दिएका थिए । जसमा ३७ हजार ७६३ जना (५६.२९ प्रतिशत ) ग्रेडेड हुँदा २९ हजार ३२३ जना (४३.७ प्रतिशत) ननग्रेडेड भएका छन् ।
















