कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियू निर्वाचनका विषयमा विवाद हुँदा विद्यार्थीहरुबीच झडप भएको छ । स्ववियू निर्वाचन सम्बन्धी संशोधित नियमावली खारेज हुनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले लगाएको ताला तोडिएपछि झडपको अवस्था सृजना भएको हो ।

स्वतन्त्र विद्यार्थीहरुले संशोधित नियमावली खारेज, निर्वाचन प्रक्रिया समावेशी र निश्पक्ष हुनुपर्ने र निर्वाचन अधिकृत परिवर्तन गर्नुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले सोमबार निर्वाचन कार्यालयमा ताला लगाएका थिए । मंगलबार बिहान उक्त ताला तोडिएपछि विवाद भएको हो ।


साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचनको मिति तोकिएको छ । सोही अनुसार मंगलबार मनोनयनको मिति तय गरिएको थियो । अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरु मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा झडपको अवस्था सृजना भएको हो ।
झडपमा ३ जना विद्यार्थी घाइते भएका छन् । झडपको अवस्था सृजना भएपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ । घटनापछि नेविसंघले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको छ । मनोनयन प्रक्रिया झनै अनिश्चित बनेको छ ।















