
धनगढी – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लिलाधर सुवेदीको जिम्मेवारी खोसिएको छ । माओवादी कार्यकर्ताले जस्तै सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने र कानुन मन्त्री हिरा सार्कीलाई असहयोग गरेको भन्दै सचिव सुवेदीको जिम्मेवारी खोसिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई जिम्मेवारी मुक्त गर्दै राजेन्द्र कुमार हमाललाई नयाँ सचिवका रुपमा पठाएको छ । सुवेदीलाई भने मुख्यमन्त्री कार्यालयमै फिर्ता गरिएको छ ।
आफ्नो फेसबुकमा सहसचिव नेपाल सरकार तथा पोखरा महानगरपालिकाको हुनेवाला प्रमुख (मेयर) लेखेका सुवेदीले सरकार विरोधी स्टाटस लेख्दै आएका छन् । सामाजिक सञ्जालमा सरकार विरोधी कुरा गर्ने सुुवेदीले मन्त्रीलाई असहयोग गर्ने, कर्मचारीहरुलाई अमिल्दो व्यवहार गर्ने तथा काम नगरि बस्ने गरेकाले जिम्मेवारीबाट हटाएको सरकारले जनाएको छ ।