खाेज्नुहाेस

कञ्चनपुरमा बजेट अभावले खानेपानी आयोजना अलपत्र

Image

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षअघि सुरु गरिएको खानेपानी आयोजना बजेटको अभावमा अधुरै रहेको छ । समयमै निर्माण सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दाले अझै असुरक्षित हेण्डपम्पको पानी प्रयोग गर्नुपरेको छ । गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीका अनुसार आयोजनाका लागि खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि ३४ लाख ८१ हजार पाँच सय ८० अनुदान प्राप्त भएको थियो । उक्त रकमबाट पर्खाल, पालेघर र बोरिङ निर्माणमा २५ लाख खर्च गरियो । तर त्यसयता बजेट अभावले थप निर्माण रोकिएको हो ।

navjiwan hospital

आयोजनाका लागि पाँच सय १५ उपभोक्ताबाट १,३०० का दरले ६ लाख ६९ हजार पाँच सय संकलन गरिएको थियो । मुद्दती खातामा राखिएको यो रकम अहिले ७ लाख ५८ हजार पुगेको छ । आयोजनाको संरचना निर्माणका लागि शिवशङ्कर माध्यमिक विद्यालयको पाँच कठ्ठा जग्गा उपलब्ध गराइएको छ । हालसम्म पक्की पर्खाल, पालेघर र एउटा बोरिङ गाड्ने काम सम्पन्न भए पनि दोस्रो बोरिङ खन्ने, कार्यालय भवन निर्माण गर्ने, पाइपलाइन विस्तार गर्ने, ओभरहेड ट्याङ्की र शौचालय निर्माण गर्ने काम बाँकी रहेको समितिले जनाएको छ ।

add everest academy
attariya hospital

दैविक प्रकोपका कारण निर्माण गरिएको पर्खालमा क्षति पुगेको छ । बजेटको अभावमा मर्मत कार्यसमेत हुन नसकेको अध्यक्ष भण्डारीले बताए । चालु आर्थिक वर्षमा आयोजनाका लागि ४० लाख विनियोजन भए पनि यो रकमले सबै बाँकी काम पूरा गर्न अपुग हुने उनको भनाइ छ । कूल ९ करोड ४६ लाख ३४ हजार ६ सय ४० लागत अनुमान गरिएको आयोजनामा थप बजेटको आवश्यकता छ । समयमा काम सम्पन्न नहुँदा स्थानीयले सुरक्षित पानीको सुविधा प्राप्त गर्न पर्खनु परेको छ ।