अत्तरिया – सुदूरपश्चिम चेम्बर अफ कमर्स र कैलाली चेम्बर अफ कमर्सले सुदूरपश्चिमका ११ जना व्यवसायीलाई सम्मान गर्ने भएको छ । चेम्बरले मंगलबार ४ विधाका ११ जनालाई सम्मानित गर्न लागेको हो ।

व्यवसायीलाई सम्मान तथा उत्प्रेरणा जगाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्य र नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको विशिष्ट आतिथ्यमा सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको सुदूरपश्चिम चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताए ।


चार विधा अन्तरगत आर्थिक वर्ष २०७९/०८० मा कैलाली जिल्लामा सबै भन्दा बढी कर तिर्ने व्यवसायी, स्थानीय उत्पादनको बजार पवर्द्धन गर्ने व्यवसायी, पर्यटन व्यवसायी र सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा उत्कृष्ट सेवा प्रदान गर्ने व्यवसायीहरुलाई सम्मान गरिने उनले बताए । सम्मान कार्यक्रम मंगलबार दिउँसो १ बजे होटल नमस्तेमा आयोजना गरिएको जनाइएको छ ।