कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवको लागि विद्यालयहरुमा तीन दिन स्थानीय बिदा दिएको छ । नगरपालिकाले बिहीबार सूचना जारी गर्दै लम्कीचुहामा मंसिर ६ गतेदेखि आयोजना गरिएको लम्की महोत्सवका लागि १४ देखि १६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय बिदा दिइएको जनाएको हो ।
लम्कीचुहा उद्योग वाणिज्य सङ्घको पत्रअनुसार स्थानीय बिदा दिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । ‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्कीचुहा महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
महोत्सवका लागि नगरपालिकाले विद्यालयहरुमा दिएको बिदाको सबैतिरबाट विरोध भइरहेको छ । तर, नगर प्रवक्ता लव शाहीले विज्ञान प्रदर्शनी र विद्यार्थीको नृत्य पनि रहेको हुँदा उद्योग वाणिज्य सङ्घको आग्रहपछि बिदा दिइएको बताएका छन् ।