धनगढी – कैलालीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि स्थानीय तहहरूमा सचेतनामूलक कार्यक्रम गरिने भएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्ष गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा २२ वटा गैरसरकारी सङ्घसंस्थाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने जनाएका छन ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाहरुले लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि पालिकाहरूमा अन्तरक्रिया, ¥याली, अभिमुखीकरण, घुम्ती शिविर, सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गर्ने जनाएका छन । अभियानभरि १५३ वटा सचेतनामूलक कार्यक्रम गर्ने र त्यसका लागि अनुमानित २८ लाख १७ हजार बजेट खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।