अत्तरियाको छ लेन सडक खण्डमा तार जाली लगाइने

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरिया खण्डको मेडियनमा तार जाली लगाइने भएको छ । उक्त सडकमा यस अघि रोपिएका बिरुवाको संरक्षण सँगै नयाँ बिरुवा रोपेर हरियाली बनाउन तार जाली लगाउन लागिएको हो । मेडियनमा तार जाली लगाउनका लागि नगरपालिकाले ७० लाखमा काम गर्ने गरी निर्माण कम्पनी छनोट गरिसकेको छ ।

maya metro hospital

नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले सडकको मेडियनमा धनगढी खण्डको जस्तै तार जाली लगाउन एमएस सुइल कन्स्ट्रक्सन सँग ७० लाख ३ हजार ७५ रुपैयाँमा ठेक्का सम्झौता गर्ने प्रक्रिया अगाडि बढेको बताए । उनले असोज ६ गते बोलपत्र आव्हान गरेर एमएस सुइल कन्स्ट्रक्सनलाई निर्माणका लागि छनोट गरिएको बताए । उनले सडकको मेडियनमा तार जाली लगाएर थप बिरुवा रोपेर हरियाले बनाइने बताए ।

६ लेन सडक खण्डको अत्तरिया क्षेत्रमा यसअघि प्लानेट ग्रिन नेपालले वृक्षारोपण गरेको थियो । तर, संरक्षणको अभावमा ती बिरुवा राम्रो सँग हुर्कन पाएका छैनन् । मेडियनमा तार जाली लगाएपछि बिरुवाको संरक्षण सँगै सडक हरियाली हुने नगरपालिकाले जनाएको छ । हाल सडकको मिडियनमा छाडा चौपायाको आवास स्थल बनेकाले तार जाली लगाएपछि छाडा चौपाया पनि हट्ने विश्वास गरिएको छ ।

attariya hospital

धनगढी उपमहानगरपालिकाको मोहना पुल देखि धनगढी उपमहानगरपालिकाको सीमा क्षेत्र सम्म भने यसअघि नै तार जाली गरेर वृक्षारोपण गरिसकिएको छ । सो खण्डमा मिडियन सँगै सडकको किनाराको फुटपाथमा पनि वृक्षारोपण गरिएको छ । यस्तै मिडियन मै सडक बत्ती पनि जडान गरिएकाले रातीको समयमा पनि सडक झिलिमिली हुने गरेको छ । तर, गोदावरी नगर क्षेत्रमा भने लामो समय देखि सडक अन्धकार सँगै सडकको सौदर्यता बढाउन कुनै काम नगरिएको भन्दै जनस्तरबाट आलोचना हुँदै आएको छ ।

२ लेनको मात्रै रहेको सडक २०७४ जेठमा ३ गते देखि ४ र ६ लेनमा विस्तार गर्ने गरी काम सुरु गरिएको थियो । सडक विस्तार गर्ने क्रममा साना ठुला गरी १ हजार ४ सय ५४ रुख काटिएका भए पनि सडक विस्तार गर्ने योजनामा रुख रोप्ने योजना भने राखिएको थिएन । जसले गर्दा हाल सो सडक क्षेत्रमा परेका पालिका, स्थानीय संघ सस्थाहरुले सडकलाई हरियाली बनाउन वृक्षारोपणको काम गर्दै आएका छन् ।

छ लेन सडक निर्माण पछि अत्तरिया धनगढी यात्रा गर्न सहज भए पनि अझै सडकलाई आवश्यक सौन्दर्यीकरण गर्ने, सडक सुरक्षाका पूर्वाधार निर्माण गर्ने काम भने हुन सकेको छैन । उक्त सडकको तिन ठाउँमा पुल निर्माण गर्नुपर्ने भए पनि हाल सम्म पुल निर्माणको काम पनि पुरा हुन सकेको छैन । चौडा सडकको धनगढी खण्डमा साइकल लेन निर्माण गरिए पनि गोदावरी क्षेत्रमा भने साइकल चलाउनको लागि पनि कुनै छुटै क्षेत्र छुट्टाइएको छैन । जसले गर्दा सडक चौडा हुँदा पनि दुर्घटनाको जोखिम भने कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.