कञ्चनपुर- कञ्चनपुरको उत्तरी भेग वेदकोट नगरपालिका-८ गैलनदी गाँउमा पहिलो पटक रामलीला महोत्सव लाग्ने भएको छ । मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जीवनमा आधारित रामलीला महोत्सव ०८१ सञ्चालन हुन लागेको हो ।
बैजनाथ सिद्धनाथ रामलीला समिति गैलनदीले निङ्गलाशैनी जगन्नाथ रामलीला समितिसँगको मुख्य सहकार्यमा मंसिर ५ गते बुधबारदेखि वडा कार्यालयको प्राङ्गणमा रामलिला सञ्चालन गर्न लागेको बताएको छ ।
रामलीलाको तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ । बैजनाथ सिद्धनाथ रामलीला समितिका संयोजक वेदकोट-८ का वडाध्यक्ष महेशराज जोशीले पहिलो पटक गैलनदी गाँउमा रामलीला सञ्चालन गरिन लागिएको बताए । उनका अनुसार यसअघि सुडामा ०५४ र ०७० तिर रामलीला सञ्चालन भएपनि स्थानीय तह पुनर्सचनासँगै पहिलो पटक वेदकोट नगरकै रामलीला गैलनदीमा सञ्चालन हुन लागेको बताए ।
वेदकोट-८ कै उत्तरी क्षेत्र जेष्ठ नागरिक बाल धार्मिक वनको वृद्धि विकासका लागि, नैतिक शिक्षा, रामजस्तै आदर्श पुरुषको विकास गर्न, सामूहिक सद्भाव, भाइचारा भावनाका लागि रामलीला सञ्चालन गर्न लागेको उनले बताए । ‘हाम्रो वेदकोट नगर उस्तैपनि धार्मिक पर्यटकीय क्षेत्र भएको नगरपालिका हो, ‘उनले भने, ‘धार्मिक पर्यटन प्रबर्धनका लागि हामीले महोत्सव पनि सञ्चालन गर्न लागेका हौैँ ।’
उनले रामजानकी विवाह पञ्चमीकै दिनदेखि सुरु हुने रामलीलाको गृहमन्त्री रमेश लेखकको प्रमुख आथित्यमा उद्घाटन हुने बताए ।निङ्गलाशैनी जगन्नाथ रामलीला समितिका सहसंयोजक भावनदेव भट्टले आफूहरुले यस पटक गैलनदीमा सञ्चालन हुने रामलीला प्रभावकारी बनाउने बताए । समितिका सचिव पदमराज भट्टले समाजको विकाससँगै आध्यात्मिक विकासको खाचो रहेको बताए । उनले रामलीलाको माध्यामबाट समाज सुधारका कार्यक्रम सञ्चालन गरिने बताए ।
बैजनाथ सिद्धनाथ रामलीला समिति गैलनदीका मुख्य संरक्षक वेदकोट नगरकी उपप्रमुख तुलसी जोशीले समाज सुधारका लागि आध्यात्मिक तरिका आवश्यक रहेको औँल्याएकी छन् । उनले समाजलाई आध्यात्मिक विषयमा जोड्दै समाजिक विकृति हटाएर समुन्नत समाज निर्माणमा भूमिका निर्वाह गरिने बताइन् । १८ मंसिरसम्म सञ्चालन हुने महोत्सवको अवलोकनका लागि आयोजकले आह्वान गरेका छन् ।