कञ्चनपुर- कञ्चनपुरको लालझाडीमा हात्तीले स्थानीयका घर भत्काएको छ । लालझाडी गाउँपालिका–४ खल्लाजाईका हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराको घर हात्तीले भत्काएको हो ।
लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले आइतबार राति हात्तीले कच्ची घर भत्काएर अन्न पनि नष्ट गरिदिएपछि तीनओटै परिवारको बिचल्ली भएको बताए । स्थानीयले यस वर्ष हात्तीले असोजदेखि मानवीय, भौतिक, अन्नबालीमा क्षति पुर्याउँदासमेत तीनै तहको सरकारले हात्ती नियन्त्रणका लागि पहल नगरेको दुखेसो गरेका छन् । लालझाडीमा असोज दोस्रो साता हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको थियो ।
लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले हात्ती नियन्त्रणका लागि स्थानीय सरकारको प्रयासले मात्रै सम्भव नभएको हुँदा प्रदेश र संघीय सरकारसँग पहल भइरहेको बताए । उनले हात्तीबाट हुने क्षति न्यूनीकरणका आफूहरुको पहल जारी रहेको बताए ।