धनगढीमा ‘शनिबारे’ मेला लाग्ने, महिलालाई उद्यमी बनाउने उद्देश्य

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा ‘शनिबारे’ मेला लाग्ने भएको छ । उपमहानगरले आगामी मंसिर १ गतेबाट धनगढी–१ पार्कमोडमा प्रत्येक शनिबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म महिला लक्षित मेलाको आयोजना गर्ने भएको हो ।

maya metro hospital

उपमहानगरका अनुसार यसका लागि ३५ वटा स्टल तयार गरिँदैछ भने खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत गरिन लागिएको छ । नगरप्रमुख गोपाल हमालले धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको बताए ।

उनले महिलालाई उद्यमी बनाउने उद्देश्यले शनिबारे बजार सञ्चालनको तयारी गरिएको बताए । तर व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई शनिबारको बजारमा स्थान दिइने छैन । घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई निःशुल्क अवसर दिइने उपमहानगरले जनाएको छ।

attariya hospital

त्यस्तै, उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्ने भएको छ । उपमहानगरको नीति तथा कार्यक्रममा भएको पढ्दै कमाउँदै कार्यक्रमको कार्यान्वयन गर्ने तयारी भइरहेको बताइएको छ ।

अध्ययनको सिलसिलामा धनगढीमा रहेका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्ने तयारी भइरहेको उपमहानगरले जनाएको छ । युवाहरूले रातिको समयमा व्यापार गर्ने र दिउँसो अध्ययन गर्न जाने योजनाअनुसार काम थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.