कैलालीबाट अढाइ लाख बढीको अवैध सामान बरामद
अत्तरिया – कैलालीबाट प्रहरीले अढाइ लाख बढीको अवैध सामान बरामद गरेको छ । सोमबार धनगढी उपमहानगरपालिका – ३ मिलन चोक, गौरीगंगा नगरपालिका – २ पुरानो चौमाला बजार, टीकापुर नगरपालिका – १ लम्कीपुल स्थित टीकापुर खक्रौला सडक खण्ड र कैलारी गाउँपालिका – ७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो ।
सो स्थानबाट जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा २ लाख ६६ हजार ५४५ रुपैयाँ बराबरको सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जसअन्तरगत चिनी, धनियाँ, महि बनाउने मोटर, सुपारी, पानीपुरी, लेडिज सुट, सल, गम्छा, पिताम्बर कपडा, जर्जेड कपडा, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामानहरु बरामद गरिएको प्रहरीको भनाइ छ ।