अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ मा जारी डाबर नेपाल अन्डर २३ बिवाईसि कप फुटबल प्रतियोगिताको फाईनलमा सगरमाथा युवा क्लब र केएफसी दोधारा कञ्चनपुर भिड्ने भएका छन । सोमबार भएका सेमिफाईनल खेलहरुबाट दुवै टोलीले फाईनलको यात्रा तय गरेका हुन ।
सोमबारको पहिलो सेमिफाईनल खेलमा धनगढीको नमो बुद्ध युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अत्तरियाको सगरमाथा युवा क्लब फाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको २० औ मिनेटमा आयुष तामाङको गोलमा सगरमाथाले अग्रता लिएको थियो ।
तर त्यसको ८ मिनेट पछि नै खेलको २८औ मिनेटमा नमो बुद्धका भुवन चौधरीले गोल फर्काउदै पहिलो हाफमा टिमलाई बराबरीको अवस्थामा पु-याएका थिए । तर खेलको दोस्रो हाफ सुरु भएको २ मिनेटमै सगरमाथाका आयुषले पुनः दोस्रो गोल गरेपछि भने सगरमाथा २–१ अन्तरले अघि बढेको हो । खेलको समाप्तीसम्म पनि नमो बुद्धले गोल फर्काउन नसकेपछि सगरमाथा फाईनलमा प्रवेश गरेको थियो ।
यस्तै प्रतियोगिता अन्तरगत सोमबार नै भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक बनदेवी युवा क्लब (बिवाईसि) (ए) लाई १–० गोलअन्तरले पराजित गर्दै केएफसी दोधारा कञ्चनपुर फाईनल प्रवेश गरेको छ । निकै प्रतिष्पर्धात्मक भएपनि खेलको अन्त्यमा केएफसीले एक गोल गर्न सफल भएको हो ।
खेलको पहिलो हाफ निकै रोमाञ्चक बनेको थियो । दुवै टोलीले मौका पाएपनि गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफमा पनि दुवै टोली बिच निकै प्रतिष्पर्धा देखिएको थियो । तर खेलको ६५औ मिनेटमा केएफसीका किसन सुनारले निर्णायक गोल गरे । उनको गोलको मद्दतले नै केफसी फाईनलमा पुग्न सफल बन्यो ।
यही कार्तिक २२ गतेदेखी सुरु भएको प्रतियोगिताको फाईनल खेल बुधबार दिउँसो २ बजेदेखी सुरु हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा विजेता टोलीले १ लाख १ रुपैयाँ तथा उपविजेता टोलीले ५० हजार १ रुपैयाँ सहित ट्रफि मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बताईएको छ ।