नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई दक्षिण कोरियामा स्वागत तथा सम्मान गरिएको छ । एशियाली राष्ट्रिय सभा जल परामर्श बोर्डको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया पुगेका उनलाई सम्मान गरिएको हो ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया र सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा छुट्टाछुट्टै कार्यक्रम भएका थिए । छोटो भ्रमणमा आएका प्रदेश सभापति बलायरलाई स्वागत, सम्मानसहित परिचयात्मक कार्यक्रम आयोजना गरिएको नेपाली जनसम्पर्क समितिका जितेन्द्र महताले बताए ।
दुईवटै कार्यक्रममा प्रदेश सभापति बलायरले सहभागीहरुसंग साक्षात्कार गर्नुका साथै कोरियामा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए । कार्यक्रममा सहभागीहरुले कोरियामा नेपाली समुदायका विविध समस्या उपर ध्यानाकर्षण गराउँदै नेपाल सरकार समक्ष आवश्यक पहलकदमीका लागि अनुरोध गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका बलायरले उठान भएका सबै विषयउपर आफ्नो धारणासहित सहभागीहरुलाई सम्बोधन गर्दै भौगोलिक रुपले जो जहाँ रहे पनि आफ्नो देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले कोरियामा नेपाली समुदायका विभिन्न समस्याका बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गरे ।