कैलाली- कैलालीमा बाख्रा चोरी गरेको भन्दै एक युवकको हत्या गरिएको छ । प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको कुटपिट गरी हत्या गरिएको हो ।
भुलमाथि शनिबार राति बाख्रा चोरी गरेको निहुँमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । कुटपिटबाट घाइते भएका भुलको सोमबार धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।
प्रहरीले भुलमाथि कुटपिट गर्ने कान्तिपुरका ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको छ ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेका उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।