अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सरसफाइका कार्यक्रम सञ्चालनमा नगरपालिकाले चासो नदिएको गुनासो आइरहेका बेला स्थानीय भने सरसफाइ प्रति सचेत बन्दै गएका छन् । नगरपालिकाले ठेक्का मार्फत बजार क्षेत्रमा सङ्कलन भएको फोहोर शुल्क लिएर उठाउने गरेको भए पनि नियमित सरसफाइमा भने ध्यान दिन सकेको छैन । नगरपालिकाले हाल मातृभूमि समाज प्रालि सँगै फोहोर सङ्कलन गर्ने सम्झौता गरेको छ । उक्त कम्पनी सङ्कलन गरेको फोहोर उठाउनमै केन्द्रित हुने गरेको छ । जसले गर्दा बजार क्षेत्र चोक सडक दुर्गन्धित बनेका छन् ।
बजार गल्ली सडकमा जताततै फोहोर भएपछि शनिबार कैलालीको अत्तरिया स्थित विजयनगर टोल बासी आफै सक्रिय भएर टोलमा सरसफाइ गरेका छन् । स्थानीयले विजयनगर गल्ली नम्बर २ को मुख्य सडक सँगै नालामा सरसफाइ गरेका हुन । लामो समयदेखि टोलमा सरसफाइ नहुँदा दुर्गन्धित भएकाले सबै मिलेर सरसफाइ गरिएको स्थानीय कमला जोशीले बताइन् । उनले सरसफाइ गरिएको फोहोर सडक किनारामा जम्मा गरिएको र, नगरपालिकाको गाडीलाई उठाउन अनुरोध गरिएको बताइन् । उनले सरसफाइ कार्यक्रम आगामी दिनमा निरन्तर रूपमा अगाडि बढ्ने बताइन् ।
स्थानीय परी नाथले स्थानीयलाई जागरूक गराउने उद्देश्य सहित सरसफाइ कार्यक्रम गरिएको बताए । उनले सरसफाइ कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको बताए । यसअघि शुक्रवार बसेको स्थानीयका भेलाले टोलमा प्रत्येक महिनाका अन्तिम शनिवार सरसफाइ गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार सरसफाइको कार्यक्रम सुरु गरिएको स्थानीयले बताएका छन् । गोदावरी नगरपालिका – १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले सरसफाइ कार्यक्रमले अन्य टोलवासीलाई पनि जागरूक गराउन राम्रो सन्देश दिएको बताए । उनले सरसफाइ कार्यक्रममा आगामी दिनमा वडा र नगरबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरसफाइ कार्यक्रमका लागि स्थानीय समाजसेवी हर्क शाहले १० वटा कुचो, गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले १ सय पिस पन्जा र दिब्या किराना पसलले मास्क सहयोग गरेको थियो । अन्य सरसफाइ सामाग्री भने स्थानीयले आफै जुटाएको स्थानीय गोपाल नाथले बताए । १५० भन्दा बढी घरधुरी रहेको उक्त टोलमा सरसफाइ कार्यक्रममा सहभागी नहुने परिवार पहिलो पटकको लागि सजक समेत गराएका थिए ।
गोदावरी नगरपालिकामा फोहोर मैला व्यवस्थापन तथा सरसफाइका कार्यक्रम गर्नको लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट समेत विनियोजन गरिएको छ । नगरपालिकाको फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख प्रमल महराले चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकम कार्यान्वयनमा नआएको बताए । उनले उक्त रकमबाट केही सरसफाइका सामाग्री खरिद गर्ने योजना रहेको बताउँदै सामान खरिद गरेपछि टोलहरूमा सरसफाइका कार्यक्रम गरिने बताए ।